काठमाडौं । विपद् तथा आपत्कालीन अवस्थामा आवश्यक रगतबारे सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘ब्लड बैंक पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
आपत्कालीन अवस्थामा बिरामीका लागि तत्काल रगत आवश्यक पर्दा कहाँ पाइन्छ, कुन रक्त बैंकमा सेवा उपलब्ध छ र सम्बन्धित संस्थासँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी जुटाउन हुने कठिनाइलाई कम गर्न पोर्टल ल्याइएको हो ।
नयाँ प्रणालीमार्फत नागरिकले आफ्नो आसपास रहेका रक्त बैंक तथा तिनले उपलब्ध गराउने सेवासम्बन्धी जानकारी एउटै स्थानबाट हेर्न सक्नेछन् । यसले रगत आवश्यक परेका व्यक्तिलाई सम्बन्धित रक्त बैंकसम्म छिटो पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
विशेष गरी बाढी, पहिरो, भूकम्पलगायतका विपद्का बेला ठूलो संख्यामा घाइतेको उपचार गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो समयमा रगतको माग बढ्ने भएकाले आवश्यक सूचना समयमै उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ ।
सरकारका अनुसार ‘ब्लड बैंक पोर्टल’ले रगत आवश्यक पर्ने नागरिकलाई उपलब्ध सेवाको जानकारीसँग जोड्नुका साथै आपत्कालीन अवस्थामा रक्त व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग गर्नेछ ।
पोर्टलमा नजिकका रक्त बैंक, उपलब्ध सेवा तथा रगतसँग सम्बन्धित आवश्यक विवरण राखिने भएकाले नागरिकले रगत खोजीका लागि विभिन्न ठाउँमा छुट्टाछुट्टै सम्पर्क गर्नुपर्ने झन्झट कम हुने सरकारको विश्वास छ ।
विपद्को समयमा कहाँ रगत पाइन्छ ?’ भन्ने आधारभूत प्रश्नको जवाफ छिटो उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो डिजिटल प्रणालीलाई आपत्कालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।
आईसीटी समाचार