कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणद्वारा आइटेल नेटवर्कको अनुमतिपत्र रद्द

दूरसञ्चार प्राधिकरणद्वारा आइटेल नेटवर्कको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आइटेल नेटवर्क प्रा.लि.को नेटवर्क सेवा तथा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्ने अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका २६ सामाखुशीस्थित उक्त कम्पनीले अनुमतिपत्र नवीकरण नगरेपछि खारेज गरिएको जनाएको हो ।

प्राधिकरणका अनुसार कम्पनीलाई २०७८ असोज १३ गते नेटवर्क सेवा प्रदायक (अनुमतिपत्र नं. भि.ज. ६–३१) र इन्टरनेट (इमेलसहित) सेवा (अनुमतिपत्र नं. फि.ज. १–१७८) सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको थियो ।

तर, कम्पनीले नवीकरणका लागि तोकिएको अवधिभित्र निवेदन पेस नगर्नुका साथै नियमानुसार लाग्ने नवीकरण दस्तुरसमेत नबुझाएकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८३ असोज १३ गतेदेखि दुवै अनुमतिपत्र स्वत: रद्द भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

यसैगरी, कम्पनीले नियमानुसार तिर्न तथा बुझाउन बाँकी रहेको रकमका सम्बन्धमा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको समयभित्र सम्पर्क नगरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।