गोमेन्द्र बहुमुखी कलेजमा पहिलो पटक झापामा अन्तर्राष्ट्रिय ह्याकाथनको आयोजना भएको छ । डेभलपर एसोसिएसन झापाको आयोजना तथा गोमेन्द्र बहुमुखी कलेजको मुख्य प्रायोजनमा ‘प्रोग्रामर अननोन ब्याटलग्राउण्ड’ शीर्षकमा ह्याकाथन सञ्चालन भनएको थियो ।
४८ घण्टा लामो यो प्रतियोगिता साउन २९ देखि ३१ सम्म गोमेन्द्र बहुमुखी कलेजकै परिसरमा आयोजना गरिएको थियो । नेपालका विभिन्न ठाउँका साथै सिक्किमबाट समेत आएका नवप्रवर्तक र डेभलपरहरूको सहभागिता रहेको यो प्रतियोगितामा १५ उत्कृष्ट टिममध्ये १० टिम मात्र फाइनलमा प्रवेश गर्न सफल भएका थिए ।
ह्याकाथनमा भरतपुरको टिम अरोमा ह्याकफोर्स ग्राण्ड विजेता भएको छ । यस्तै इम्पावरिङ कल्चरमा फ्ल्युड, ग्लोबल बिजनेसमा बिर्तामोडको नेलो र टेलिमेडिसिन र सोसल इम्प्याक्ट विधामा नेपडेप तथा बेस्ट आईओटीमा बाबज विजेता हुन सफल भएका छन् ।
प्रतियोगिताको मूल्यांकन निर्णायक मण्डलमा डेनियल थापा, बिनिलराज अधिकारी र लोकप्रिया खनाल रहेका थिए । टिमहरूलाई आशिष भण्डारी, भास्कर रिजाल, अर्जुन तिवारी, कर्ण तामाङ र कौशल निरौलाले मन्टरिङ गरेका थिए ।
आयोजक टिमका सदस्य अविरल आचार्यले ह्याकाथनहरू प्रायः काठमाडौंमा मात्र केन्द्रित हुने भएकाले झापामा ह्याकाथन आयोजना गरेर नयाँ पहल सुरू गरेको बताए ।