कीवर्डहरू -

भारतमा खुल्ने जिम्बु थकालीको व्यवस्थापन नेपाली सफ्टवेयर आईएमएसबाट

भारतमा खुल्ने जिम्बु थकालीको व्यवस्थापन नेपाली सफ्टवेयर आईएमएसबाट

काठमाडौं । नेपाली खानाको ब्रान्ड जिम्बु थकालीले भारतमा सञ्चालन गर्न लागेको पहिलो अन्तर्राष्ट्रिय शाखाको व्यवस्थापनका लागि नेपाली प्रविधि कम्पनी आईएमएस सफ्टवेयरको प्रणाली प्रयोग गर्ने भएको छ ।

भारतमा समेत सेवा विस्तार गरिसकेको आईएमएस सफ्टवेयरले जिम्बु थकालीको रेस्टुरेन्ट सञ्चालन तथा बिलिङ व्यवस्थापनका लागि आवश्यक प्रविधि उपलब्ध गराउनेछ । यससँगै नेपाली खानाको ब्रान्ड र नेपाली प्रविधि एउटै अन्तर्राष्ट्रिय परियोजनामा सहकार्य गर्दै भारत प्रवेश गर्न लागेका हुन् ।

जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्रामको सेक्टर ६५ मा यही साउन १५ गतेदेखि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउँदै छ । कम्पनीका अनुसार रेस्टुरेन्टको दैनिक व्यवस्थापनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन आईएमएस सफ्टवेयरको प्रणाली जडान गरिनेछ ।

जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले अन्तर्राष्ट्रिय शाखामा नेपाली प्रविधि प्रयोग गर्नु सचेत रूपमा गरिएको निर्णय भएको बताए । नेपाली व्यवसायहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र एकअर्कालाई सहयोग गर्दै अघि बढ्न सक्ने सन्देश दिन आईएमएस सफ्टवेयरसँग सहकार्य गरिएको उनको भनाइ छ ।

आईएमएस सफ्टवेयरले यसअघि नै भारतमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब कम्पनीको प्रविधि भारतमा सञ्चालन हुने नेपाली रेस्टुरेन्टको व्यवस्थापन प्रणालीका रूपमा प्रयोग हुन लागेको हो । यसले नेपाली सफ्टवेयर कम्पनीहरूको क्षेत्रीय बजारमा बढिरहेको पहुँच र व्यावसायिक प्रयोगलाई समेत देखाउने अपेक्षा गरिएको छ ।

जिम्बु थकालीको नयाँ शाखा रहेको सोही व्यावसायिक परिसरमा नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखासमेत रहनेछ । नेपाली खाना, कफी र प्रविधि एकै स्थानमा जोडिनुले नेपाली ब्रान्डहरूबीचको अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ ।

करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने रेस्टुरेन्टमा परम्परागत थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी, सेकुवा तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन् । चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, जुजु धौबाट बनाइने मिठाइ र खुवा यमरीसमेत मेनुमा समावेश गरिनेछ ।

मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत नेपाली रैथाने मसला नेपालबाटै आपूर्ति गरिने कम्पनीले जनाएको छ। रेस्टुरेन्टको आन्तरिक संरचनामा नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृति झल्काउने सामग्री प्रयोग गरिएको छ ।

सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालका चार शाखाबाट सेवा दिइरहेको छ । कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकले जिम्बु थकालीको सेवा लिइसकेका छन् ।

भारतमा खुल्ने शाखालाई जिम्बु थकालीले व्यवसाय विस्तारसँगै नेपाली खाना, संस्कृति, आतिथ्य र प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने अभियानको सुरुआतका रूपमा लिएको छ ।