कीवर्डहरू -

ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई बेबी वार्मर

ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई बेबी वार्मर

ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्व ध्यानमा राखी बेबी वार्मर सहयोग स्वरूप प्रदान गरेको हो । 

नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन जीवनरक्षक चिकित्सा उपकरण बेबी वार्मर (न्यानो नानी) प्रयोग गरिन्छ ।

बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अतिदुर्गम चार स्थानमा ती मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकता मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका ती स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो ।

विभिन्न कार्यक्रम मार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा ती बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकको पहलमा बैतडी दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका–२ सर्मौली अवस्थित सर्मौली हेल्थ पोस्ट र अपि हिमाल गाउँपालिका–५ सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।

यस अतिरिक्त बैंकले बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकाय पनि थप उत्साहित भएका छन् ।

त्यस अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको थियो ।