कीवर्डहरू -

एमच्याम नेपालको अध्यक्षमा लिपफ्रगका कैलाश विजयानन्द

एमच्याम नेपालको अध्यक्षमा लिपफ्रगका कैलाश विजयानन्द

अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौथौ वार्षिक साधारणसभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन ।

लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्वीट्जरल्याण्ड, क्यानडा र अमेरिकामा विगत करिब दुई दशकदेखि सेवा दिइरहेको छ । प्रोग्रमरका रुपमा करिअर सुरुआत गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्री हासिल गरेका छन् ।

कार्यसमितिको बोर्ड सदस्यहरुमा फोर्ड कम्पनीका आकाश गोल्छा, जुनो कम्पनीका मनिष थापा, मोघा इनर्जीका समराथ मोघा, बोटलर्स नेपालका स्नेह राजभण्डारी, पठाओ नेपालकी सुरक्षा हमाल, डियर होल्डका सचिन करनजीत चयन भएका छन् । साथै एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित बिक्रम शाह, सेमन्त दाहाल र निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ पनि बोर्ड सदस्यमा चयन भएका छन् ।

राजदूत थम्पसनले व्यापार, लगानी तथा पारदर्शी र पूर्वानुमानयोग्य व्यावसायिक वातावरणको प्रवद्र्धनमा अमेरिकी दूतावास नेपाल र एमच्याम नेपालबीचको सुदृढ साझेदारीलाई विशेष रूपमा उल्लेख गरे । उनले एमसिसी नेपाल कम्प्याक्टले अमेरिकी तथा नेपाली कम्पनीका लागि सृर्जना गर्ने रूपान्तरणकारी अवसरबारे प्रकाश पार्दै, नेपाली बजारमा अमेरिकी कम्पनीहरूको निरन्तर प्रवेश भइरहेको तथ्यबारे चर्चा गरेका थिए ।

यसका साथै, नेपालले लगानीमैत्री वातावरणलाई थप सुदृढ गर्न तथा नीतिगत स्थायित्व र निश्चितता प्रदर्शन गर्न सक्ने केही व्यावहारिक कदमहरूको आवश्यकता औंल्याए । उनले गत सेप्टेम्बर ८–९ मा नेपालमा भएका घटनाहरूको सन्दर्भमा नेपाल तथा अमेरिकी व्यावसायिक समुदायले देखाएको सहनशीलता र दृढतालाई प्रशंसा गर्दै, स्थिर र दीर्घकालीन आर्थिक वृद्धिप्रति निरन्तर समर्थन रहने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूताबासका डेपुटी चिफ अफ मिसन स्कट अर्बन, पब्लिक अफेयर्स प्रमुख माइक हार्कर, इकोनोमिक प्रमुख केट लेहयी र इकोनोमिक अफिसर जेरहा नाक्भी र आनन्द गुरुङलगायतको उपस्थिती थियो ।

त्यस अवसरमा एमच्याम नेपालका कार्यकारी निर्देशक अमीरराज थापाले बोर्डको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले बोर्डको प्रतिवेदन र कम्पनीको वित्तीय प्रतिवेदन अनुमोदन गरिएको थियो ।