कीवर्डहरू -

कताहो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्यो कनकाई

कताहो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्यो कनकाई

कनकाई नगरपालिका डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्न सफल भएको छ । चैत्र ११ गते कनकाइ नगरपालिकामा कताहो डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडानकार्य शुभारम्भ गरिएको हो । 

कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले ठेगाना प्लेट जडानकार्यको शुभारम्भ गरेका थिए । कताहो १ महिना अघि परीक्षणको रुपमा सुरू भएको थियो ।

कताहो एपमार्फत तयार पारिने प्लेटमा मेशिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, २ शब्द र अंकको कताहो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत हुन्छ । 

त्यसको अलावा प्लेटमा रहेको क्यु आर कोडमार्फत घरधनीको मोबाइलमा घंटी (Door Bell) बजाउने सुविधा सहितको यस प्रकारको प्रणालीको विकाश नेपालमा लामो समय प्रविधि अनुसन्धानमा बिताएका चर्चित जुम्ल्याहा अनुसन्धानकर्ताहरु रामलक्ष्मण संलग्न रहेको एड्रेसग्राफ नेपाल प्रालिले तयार गरेको हो ।

उक्त अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा नं. ७, दुर्गापुर स्थित सामुदायिक भवनमा एक संक्षिप्त कार्यक्रमका विच प्लेट जडान गरी 'कता हो' नामक डिजिटल ठेगाना प्लेट प्रणालीको शुभारम्भ गरेका हुन् ।

मेयर राजेन्द्र पोखरेलले नेपालमै तयार पारिएको अत्याधुनिक ठेगाना प्रणाली नेपालमै पालिकास्तरमा शुरुवात गर्न पाउँदा खुसी लागेको बताए । ‘स्वदेशी प्रविधिलाई पालिकाहरुले आ-आफ्ना स्तरबाट प्रवर्धन गर्नुपर्ने कुरा गर्नुपर्छ,’ उनले भने, ‘डिजिटल ठेगाना प्रणालीको प्लेट तयार गर्न तथा त्यसलाई प्रयोग गर्नको लागि निकै कम समयमा कार्य गर्न सकेकोमा प्रविधि विकाशकर्ताहरुलाई धन्यबाद दिँदै नेपालका शहरका लागि मात्र नभइ विकट स्थानको लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहने छ ।’

कार्यक्रममा कताहो प्रणालीका प्रविधि अनुसन्धानकर्ता राम प्रसाद रिमालले ५ बर्ष लामो अनुसन्धानपश्चात विकाश भएको यो प्रणाली मार्फत नेपालभर जो सुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने र पालिकाहरुले यसकोलागि समन्वय गर्न सकेमा ठेगाना प्रदान गर्नका लागि सरकारको ठूलो बजेटको बचत हुन सक्ने बताए । 

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, स्थानीय वडाका वडाअध्यक्ष भिष्मभुषण सिटौला सहित वडाका जनप्रतिनिधिहरु, दुर्गापुर सामुदायिक भवनका अध्यक्ष अमृत योङहाङ, टोल विकास संस्थाका प्रतिनिधि, दुर्गापुर बजार व्यवस्थापन समिति, विभिन्न संघसंस्था सहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा नयाँ प्रविधिको शुभारम्भ गरिएको थियो । 

यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने भएको छ । यो प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले जानकारी दिए । रिमालको भनाई अनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो ।