काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आज बसेको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षका लागि दीर्घकालीन विकास दृष्टिकोणलाई आधार बनाउँदै ११ वटा प्रमुख क्षेत्रलाई समेटेर नीति निर्माण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय योजनालाई निरन्तरता दिने उद्देश्य पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नयाँ नीति तथा कार्यक्रमले काठमाडौंको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा संरक्षण, आधुनिक शहरी विकास र समग्र शहरी सभ्यतालाई प्रमुख आधार मानेको छ ।
यसअन्तर्गत सुशासन तथा संस्थागत व्यवस्थापन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य सेवा विस्तार, वातावरण संरक्षण तथा सरसफाइ, राजस्व सुधार, शहरी योजना तथा पूर्वाधार विकास, सम्पदा–संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रम प्रस्तुत गर्नुअघि बिहान काठमाडौँ प्लाजामा बसेको ५१ औँ कार्यपालिका बैठकले नीति तथा कार्यक्रममाथि छलफल गर्दै नगरसभामा पेश गर्ने निर्णय गरेको थियो । नीति प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक हुने उल्लेख गरिन् ।
उनले संघीय तथा स्थानीय सरकारबीच समन्वय र साझेदारीमार्फत लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरिन् । नगरसभाको दोस्रो बैठक नीति तथा कार्यक्रममाथि विस्तृत छलफलका लागि भोलि बिहान ८ बजे राष्ट्रिय सभा गृहमा बस्ने छ ।
आईसीटी समाचार