जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा एआई सिर्जित सामग्री प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
काठमाडौं महानगरपालिका–४ स्थित नारायणगोपाल चोकको चक्रपथ सडक खण्डमा पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाउने सवारी चालकलाई प्रहरी नियन्त्रणमा लिइसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ। पक्राउ परेका चालकउपर प्रचलित कानुन बमोजिम थप अनुसन्धान अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।
घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताबाट भ्रामक फोटो, भिडियो तथा अन्य असत्य सूचना, साथै एआई प्रविधिबाट सिर्जित श्रव्य–दृश्य सामग्री प्रसारण भइरहेको विषय प्रहरीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। यस्ता सामग्रीले अनुसन्धान प्रक्रियामा असर पार्नुका साथै सार्वजनिक भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न प्रहरीको अनुरोध छ।
प्रहरीले कानुन बमोजिम अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना सम्प्रेषण नगर्न, सार्वजनिक जवाफदेहितालाई ध्यानमा राख्न तथा मानविय कर्तव्यको पालना गर्न सबैमा हार्दिक अपिल गरेको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्दै अनुसन्धान प्रक्रिया प्रभावित पार्ने गतिविधि नगर्न चेतावनी दिएका छन्।

आईसीटी समाचार