पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KCC Exhibit 2025’ आजदेखि काठमाडौंको पुतलीसडकस्थित कलेज परिसरमा आयोजना हुँदैछ ।
साउन १६ र १७ गते सञ्चालन हुने केसीसी एक्जिबिटको नारा “Innovate, Exhibit, Inspire” दिइएको छ । यो दुईदिने कार्यक्रमले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक क्षमतालाई उजागर गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शनमा हुनेछन् । जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), वेब तथा मोबाइल एप्लिकेसन, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडल, ट्राफिक व्यवस्थापन प्रणाली, भूकम्प प्रतिरोधी संरचनाजस्ता विषय समावेश गरिनेछन्। यस्ता परियोजनाहरूले नेपालमा प्राविधिक नवप्रवर्तनको सम्भावना र विद्यार्थीहरूको व्यावहारिक ज्ञान प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन्।
त्यस्तै, व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत बीबीएका विद्यार्थीहरूले सञ्चालन गर्ने ५ भन्दा बढी खाना स्टलमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछ। यसले विद्यार्थीहरूको उद्यमशीलता विकासमा सघाउ पुर्याउनुका साथै आगन्तुकहरूलाई फरक स्वाद अनुभव गराउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक बनाइएको छ। प्रदर्शनीका दौरान चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत सांगीतिक प्रस्तुतीहरूले माहोललाई झनै रंगीन बनाउने छन्।
केसीसी एक्जिबिटको उद्घाटन आज बिहान ९ बजे कलेज परिसरमै हुनेछ। उक्त समारोहको अध्यक्षता कलेजका अध्यक्ष सुमन कटवालले गर्नेछन् भने प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ रहनेछन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथि रहनेछन्। अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, व्यवस्थापन संघ (MAN) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, प्राचार्य राजु कट्टेल, र कार्यक्रम संयोजक इ. रवि श्रेष्ठ रहने छन् ।
दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षित गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन्। प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न सशक्त मंच प्रदान गर्नुका साथै नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकासमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।
आईसीटी समाचार