व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।
शेयर खरिद बिक्रीका लागि प्रारम्भिक सम्झौता भएपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि बाँकी काम अगाडि बढ्ने छ ।
खेतान समूहले करिब एक अर्ब ४० करोड रूपैयाँदेखि एक अर्ब ५० करोड रूपैयाँसम्ममा फोन पेको २० प्रतिशत शेयर खरिद गर्ने बताइएको छ । यसका लागि फोन पेको मूल्यांकन ७ अर्ब रुपैयाँ गरिएको छ । यसअनुसार सेयर मूल्य प्रतिकित्ता १३८६.१३ रुपैयाँ पर्छ ।
सन् २०१९ मा स्थापना भएको फोनपे नेपालको लोकप्रिय भुक्तानी प्रणाली सञ्चालक हो । एफवान सफ्ट ग्रुप अन्तर्गत फोनपले क्रस बोर्डर भुक्तानी सुविधा समेत सञ्चालन गरिरहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ ।
फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।