किशोरकिशोरीहरूले अब इन्स्टाग्रामलाई झुक्काउन नकस्ने भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा त्यस्ता प्रयोगकर्ताहरूको पहिचान गर्न प्रयास गर्दैछ, जो आफ्नो वास्तविक उमेर लुकाएर एपमा आफूलाई ठूलो देखाउन खोजिरहेका छन् । इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले सोमबार यसबारे जानकारी दिएको हो ।
मेटाले पहिले देखिनै एआई प्रविधिको प्रयोग गरेर प्रयोगकर्ताको उमेरको अनुमान लगाउँदै आएको छ । तर अब फोटो र भिडियो सेयरिङ एप इन्स्टाग्रामले प्रोएक्टिभ अर्थात् सक्रिय रूपमा त्यस्ता अकाउन्टहरू खोज्न थालेको छ, जसले झूटा जन्ममिति दिएर आफ्नो वास्तविक उमेर लुकाउँछन् ।
कुनै प्रयोगकर्ताले आफ्नो वास्तविक उमेर लुकाइरहेको एआईले थाहा पाएमा अकाउन्टलाई स्वचालित रूपमा टीन अकाउन्टमा परिवर्तन गर्नेछ । टीन अकाउन्टहरूमा वयस्क अकाउन्टहरूको तुलनामा धेरै प्रतिबन्धहरू रहनेछन् ।
जस्तैः टीन अकाउन्टहरू डिफल्ट रूपमा प्राइभेट हुनेछन् । बच्चाहरूले केवल उनीहरूले पहिल्यै कनेक्ट गरेका वा फलो गरेका व्यक्तिबाट मात्र म्यासेज पाउनेछन् । “संवेदनशील सामग्री” जस्तै झगडा–झंमेलाका भिडियो वा कस्मेटिक सर्जरीलाई प्रोत्साहन दिने सामग्रीमा पनि रोक लगाइनेछ ।
यदि कुनै किशोरले ६० मिनेटभन्दा बढी समय इन्स्टाग्राममा सक्रिय रहन्छ भने, उसलाई नोटिफिकेसनमार्फत ब्रेक लिन सल्लाह दिइनेछ । साथै राति १० बजेदेखि बिहान ७ बजेसम्म “स्लीप मोड“ सक्रिय हुनेछ, जसमा न त नोटिफिकेसन आउनेछ, न म्यासेज अलट्र्स । यसका साथसाथै अटो–रिप्लाइ फिचर पनि अन हुनेछ ।