कीवर्डहरू -

केयुका विद्यार्थीले बनाए विद्युतीय कार, फर्मुला भारत च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै

केयुका विद्यार्थीले बनाए विद्युतीय कार, फर्मुला भारत च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ विश्वविद्यालय (केयु) का विद्यार्थीहरुले फर्मुला थ्री रेस विद्युतीय कारको निर्माण गरेका छन् । काठमाडौँ विश्वविद्यालयको टिम ऊर्जाले आगामी जनवरी १९ देखि २४ सम्म भारतमा हुने ‘फर्मुला भारत च्याम्पियनशीप २०२४’ मा सहभागी हुनका लागि उक्त विद्युतीय कारको निर्माण गरेको हो ।

केयुका विद्यार्थीहरूले नै फर्मुला थ्री रेस विद्युतीय कारको डिजाइन र विकास गरेका हुन् । टिम ऊर्जाको नेतृत्व पियुस नेपाल, मेकानिल लिड रोजन विष्ट र इलेक्ट्रिकल लिड सुलभ कार्कीले गरिरहेका छन् भने टिम ऊर्जामा करिब १६ जना सदस्य रहेका छन् । टिम ऊर्जाको प्राविधिक साझेदारको रुपमा यात्री मोटरसाइकले सहयोग गरिरहेको छ ।

रेस ईभी निर्माण गर्ने ठाउँ प्रदान गर्ने देखि लिएर, स्रोत साधन दिने र थप प्राविधिक सहयोग प्रदान गर्नेसम्ममा यात्रीले मद्दत गरिरहेको इलेक्ट्रिकल टिम लिड सुलभ कार्कीले बताए । 

अन्य आवश्यक सम्पूर्ण स्रोतसाधन, सल्लाहकार तथा आर्थिक सहयोग केयूको इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिंग विभागले नै उपलब्ध गराइरहेको छ । यसैगरी ब्याट्रीको डिजाइनिंगका लागि टिम ऊर्जाले झम्सिखेल स्थित ईभोल्ट कम्पनीसँग सहकार्य गरेको छ । 

फर्मुला थ्री रेस विद्युतीय कारको सानोदेखि ठूलो सबै पार्ट पूर्जा रुट इन्जिनियरिंग प्रयोग गरेर बनाइएको कार्कीले जानकारी दिए। ‘हामीले कुनै पनि पार्ट पूर्जा बाहिरबाट ल्याएर यहाँ एसेम्बल गरेका छैनौँ,’ कार्कीले भने, ‘विद्युतीय कारको सानोदेखि ठूलो सबै पार्ट पूर्जा रुट इन्जिनियरिंग प्रयोग गरिएको छ ।’

फर्मुला भारत च्यापियनशिपले सञ्चालन गर्ने क्वीजमा छनोट भएपछि मात्रै यस प्रतियोगितामा सहभागी हुन पाइन्छ । त्यसमा टिम उर्जा सफल भएको थियो । यस प्रतियोगितामा सहभागी हुन् डकुमेन्ट भेरिफिकेसन चाहिने हुँदा टिम ऊर्जाले त्यसका लागि ६ महिनादेखि काम गर्दै आएको छ ।

null

प्राविधिक जाँचपछि प्रतियोगितामा अन ट्रयाक प्रतिस्पर्धा हुन्छ, जहाँ ८० देखि १०० टिमहरू सहभागी हुनेछन् । त्यसमा एउटा टिम उर्जा समेत हुनेछ ।

ट्रयाक पूरा गर्ननै ५–६ दिन लाग्ने हुँदा यो लामो किसिमको प्रतिस्पर्धा हुने उनको भनाइ छ । टिम ऊर्जाले हाल प्रतिस्पर्धामा हुने २४ किलोमिटरको इन्ड्युरेन्स ट्रयाकमा अघि बढने लक्ष्य राखेको छ ।

टिम उर्जाले केयूको इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिंग विभाग, यात्री मोटरसाइटकल, ईभोल्ट लगायतसँगको सहकार्यमा विद्युतीय कार निर्माण गरेपनि अब प्रतिस्पर्धामा भाग लिनका लागि आर्थिक सहयोगको खाँचो रहेको जनाइएको छ । ट्राभल र कार्गोका लागि लजिष्टिक स्पोन्सरसीप खोजिरहेको उनीहरूको भनाइ छ । 

फर्मुला च्यापियनशिप जर्मनीबाट सुरु भएको कार्यक्रम हो । त्यहाँबाट विस्तार हुँदै अमेरिका, फ्रान्स, अस्ट्रलियाहुँदै भारतले पनि सो कार्यक्रम आयोजना गर्न थालेको हो । फर्मुला भारत च्यापियनशिपमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउँछन् ।

यो एक इन्जिनियरिङ डिजाइन प्रतियोगिता हो, जसमा सहभागी हुन् हरेक पटक लाइफ साइज फर्मुला–स्टाइल सवारी साधनको डिजाइन र निर्माण गर्न आवश्यक हुन्छ ।

यसको लक्ष्य भनेको ईन्जिनियरिङ्को सैद्धान्तिक ज्ञानलाई व्यावहारिक वातावरणमा परीक्षण गर्नु रहेको छ । यस प्रतियोगितामा कम्बसन र इभी गरी दुई विधा हुने गर्दछ । यो वर्ष फर्मुला भारत च्याम्पियनशीप २०२४ को आठौँ संस्करण हो ।