कीवर्डहरू -

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

स्टार्टअपलाई तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा, परियोजना नै धितो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन मन्त्रालयले  साउन ३० गते कार्यविधि स्वीकृत गरेको हो ।

कार्यविधि अनुसार परियोजनालाई नै धितो मानेर ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध हुनेछ । कर्जा प्रवाहका लागि स्टार्टअप उद्यम कर्जा कार्यक्रमको कार्यान्वयन निकाय औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी प्रस्ताव माग गर्नेछ । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाउने छैनन् ।

कर्जा पाउनका लागि उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाँघेको, स्थापना भएपछि कुनैपनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रूपैयाँ ननाँघेको, नवीन सोचसहित तीव्र वृद्धिको सम्भावना भएको र सञ्चालित व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम हुनुपर्नेछ ।

प्रचलित कानुनबमोजिम उद्योगको रुपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको, कालोसूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीको रुपमा दर्ता भएको उद्यमलाई स्टार्टउप कर्जाका लागि योग्य मानिने छैन ।

कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । कर्जावापतको रकम बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्नेछ भने खातामा बाँकीरहेको रकम आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ । 

कर्जाका लागि आवेदन दिँदा अन्य कुनै निकायबाट सहुलियत कर्जा नलिएको स्वघोषणा गर्नुपर्ने र स्वघोषणा झुटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बेला रद्द हुन सक्ने छ । अन्य निकायबाट सहुलीयत कर्जा लिएका प्रस्तावकलाई सो कर्जा चुक्ता नगरेसम्म यस कार्यविधि अनुसार कर्जा उपलब्ध हुनेछैन् । 

कर्जा दिदा बैंकले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, साँवा फिर्ता र व्याजको अवधि तथा प्रक्रिया प्रस्तावकसँग सम्झौता गर्नुपर्नेछ । कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याज वापतको रकम फिर्ता गर्न प्रारम्भ गर्नुपर्ने छ ।

उद्यमीसँग गरेको सम्झौताको जानकारी सात दिनभित्र बैंकले प्रतिष्ठानलाई दिनु पर्नेछ । सम्झौता भएपछि सम्बन्धित बैङ्कले उद्यमीलाई सात कार्यदिन भित्र कर्जाको प्रथम किस्ता उपलब्ध गराउनु पर्नेछ । 

बैकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुइ किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउने छ । उपलब्ध गराइएको प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्टयाँइसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनु पर्नेछ ।

कसैले किस्ता अवधि अगावै कर्जा चुक्ता गर्न चाहेमा अतितिक्त शुल्क लाग्ने छैन् । कर्जा प्रवाह गर्दा बैङ्कले प्रचलित कानून बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्जाको सुरक्षण गराउनु पर्नेछ । कर्जा प्रवाह गर्दा बैंकले अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छ ।