काठमाडौं । कहिले काहीँ यस्तो गोप्य जानकारी पठाउनुपर्छ, जुन एक पटक पढिसकेपछि फेरि कसैले हेर्न नसकोस् । यस्तै अवस्थाका लागि प्रिभनोट एक सरल र उपयोगी अनलाइन सेवा हो ।
यस सेवामा प्रयोगकर्ताले आफ्नो गोप्य सन्देश वा नोट लेख्छन् । त्यसपछि वेबसाइटले एउटा विशेष लिंक उपलब्ध गराउँछ, जुन सम्बन्धित व्यक्तिलाई पठाउन सकिन्छ । जब प्राप्तकर्ताले उक्त लिंक खोलेर नोट पढ्छ, नोट स्वत: मेटिन्छ र पुन: हेर्न मिल्दैन ।
प्रिभनोट प्रयोग गर्न कुनै एप डाउनलोड गर्नुपर्दैन र साइनअप पनि आवश्यक हुँदैन । प्रयोगकर्ताले वेबसाइटमा गएर सिधै सन्देश लेख्न, लिंक बनाउन र पठाउन सक्छन् ।
यसमा नोट कहिले मेटिने भन्ने विकल्प पनि उपलब्ध छ । उदाहरणका लागि, नोट पढ्नेबित्तिकै मेटिने वा निश्चित समयपछि स्वत: हट्ने व्यवस्था गर्न सकिन्छ । साथै, नोटमा पासवर्ड राख्ने र नोट पढिएपछि सूचना प्राप्त गर्ने सुविधा पनि रहेको छ ।
यद्यपि यो अत्याधुनिक साइबर सुरक्षा प्रणाली भने होइन, तर दैनिक प्रयोगका लागि जस्तै पासवर्ड पठाउन, लगइन विवरण साझा गर्न वा व्यक्तिगत जानकारी सुरक्षित रूपमा सेयर गर्न यो उपयोगी मानिन्छ ।
विशेष गरी फ्रीलान्सिङ, अनलाइन काम वा संवेदनशील जानकारी आदान–प्रदान गर्दा सुरक्षित तरिकाले सन्देश पठाउन चाहनेहरूका लागि प्रिभनोट उपयोगी विकल्प बन्न सक्छ ।
आईसीटी समाचार