बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संघ सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पस (CSITABMC) ले लुम्बिनी प्रदेशमा पहिलोपटक एक महिना लामो आईटी वर्कशप ‘लुम्बिनी टेक मन्थ २०८२’ आयोजना गर्न लागेको छ।
कार्यक्रम प्रविधि, युवा सीप विकास र व्यक्तित्व विकासमा केन्द्रित हुनेछ। कार्यक्रम तीन मुख्य साप्ताहिक खण्डमा सञ्चालन हुनेछ।
कोड विकमा प्रोग्रामिङ र डिजिटल प्रविधिसम्बन्धी तालिमहरू प्रदान गरिनेछ भने नोकोड विकमा कोडिङ ज्ञान आवश्यक नपर्ने टुल्समार्फत डिजिटल समाधान खोज्ने र विकास गर्ने सेसनहरू आयोजना गरिनेछ।
व्यक्तित्व विकास हप्तामा क्यारियर गाइडिङ, नेतृत्व विकास, सार्वजनिक रूपमा बोल्ने कला र व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू हुने जनाइएको छ।
यसैक्रममा सहभागीहरूको लागि टेक ट्रेजर हन्ट पनि आयोजना गरिनेछ। साथै, यस महिना पश्चात डाटा फ्लोशिप प्रोग्राम सञ्चालन गरिनेछ। यस अन्तर्गत डाटा क्याम्प र डाटा क्याम्प डोनेटको सहकार्यमा उत्कृष्ट १०० सहभागी विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ।
आयोजकहरूका अनुसार कार्यक्रममा देशभरिका उत्कृष्ट विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। उच्चस्तरीय तालिम र प्राविधिक सेसनको व्यवस्था गरेर विद्यार्थी र युवालाई प्रविधि तथा नवप्रवर्तनतर्फ आकर्षित गर्ने प्रयास गरिएको छ।
कार्यक्रमको शीर्ष प्रायोजक डियरहाइभ टेक्नोलोजिज रहेको छ भने सह-प्रायोजक आरएण्डी हाइभ रहेको छ। शिक्षा साझेदारको रूपमा गिटहब एजुकेसन र डाटाक्याम्प रहेका छन् भने कार्यक्रमको संरक्षक तिलोत्तमा नगरपालिका रहेको जनाइएको छ।
कार्यक्रमको प्रारम्भको तीन हप्ता अनलाइन माध्यमबाट वर्कशप सञ्चालन गरिनेछ भने अन्तिम एक हप्ता उमाई गार्डेन रिसोर्टमा भौतिक रूपमा सञ्चालन गरिनेछ।
कार्यक्रमको समापन समारोहमा विभिन्न आईटी कम्पनी तथा कार्यक्षेत्रका विज्ञहरूद्वारा स्पीकिङ सेसन सञ्चालन गरिनेछ। साथै, त्रिभुवन विश्वविद्यालयका डिन तथा प्राध्यापकहरू र उद्योग विशेषज्ञबीच पाठ्यक्रम र वास्तविक कार्यक्षेत्रबीचको अन्तरबारे प्यानल डिस्कसन पनि आयोजना गरिनेछ।
कार्यक्रमसम्बन्धी थप विवरण र दर्ता प्रक्रिया techmonth.csitabmc.com मार्फत उपलब्ध रहेको छ।
आईसीटी समाचार