नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका (हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।
दश वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।
‘नाता’ , ‘सालिक’ , ‘नेपाल बन्द’, ‘मह दोहोरी’ जस्ता अनेकौँ सदाबहार प्रहसन गरिसेकेको यो अद्भुत जोडीको यस ‘मह जात्रा’ प्रहसन पनि भव्य रहने खल्तीले जनाएको छ । यो अद्वितीय प्रहसनले पुरानै शैलीमा समसामयिक विषय उठाउँदै हास्यव्यङ्ग्य रसको प्रयोग गरी सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउने विश्वास गरिएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले निरन्तर पाँच दशक देखि हँसाउँदै र व्यङ्ग गर्दै समाजमा कला र सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका मह जोडीको प्रहसनको टिकट खल्ती प्रयोगकर्ताहरूले घरै बसी बिना कुनै झन्झट, सहज ढङ्गले टिकट खरिद गर्न सक्ने बताए । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      