आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ फुडमाण्डुका संस्थापक मनोहर अधिकारीलाई प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा अधिकारीलाई आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका उद्यमीलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष फुडमाण्डुका अधिकारीले आन्टरप्रेनर आइसिटी अवार्ड प्राप्त गर्न सफल भएका हुन् । नेपालमा अनलाइन फुड डेलिभरीको कल्चर बसाल्ने आईटी उद्यमी हुन, मनोहर अधिकारी ।
सफ्टवेयर डेभलपरबाट आफ्नो करियर सुरू गरेका अधिकारीले सन् २०१० मा नेपालकै पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुको सुरूवात गरेका थिए ।
अमेरिकी कम्पनी डिटुहकाईमा काम गर्दा नजिकमा आफुले चाहेको खाजा नपाएपछि फुरेको आईडिया आज लाखौं नेपालीहरूको जीवनशैली बन्न पुगेको छ ।
डेढ दशक अगाडि संसारकै लागि नौलो अनलाइन व्यवसाय फुडमाण्डु सुरू गरेर धेरैको प्रेरणाको स्रोत बनेका उनले फुडमाण्डुमा प्रत्यक्ष रूपमा करिब ५०० जनालाई रोजगारी दिएका छन् ।
पछिल्लो समय १५ देखि ३० मिनेटमै ग्रोसरी र डेलि एसेन्सीयल डेलिभरी गर्ने गरी उनले फुडमाण्डु वानमार्ट समेत सुरू गरेका छन् ।