नेदरल्यान्ड सरकारले मंगलबार अभिभावकहरूलाई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्मको प्रयोगबाट टाढा राख्न आग्रह गरेको छ।
सरकारको भनाइमा, यस्ता प्लेटफर्मका लत लाग्ने र अत्यधिक आकर्षक फिचरहरूले किशोर–किशोरीहरूमा डिप्रेशन, निद्रासम्बन्धी समस्या र अन्य मानसिक तथा शारीरिक असरहरू निम्त्याइरहेका छन्।
नेदरल्यान्डको स्वास्थ्य मन्त्रालयद्वारा जारी सिफारिशमा अभिभावकहरूलाई बालबालिकाको स्क्रिन टाइम सीमित गर्न, फोन र ल्यापटप बेडरूमबाहिर राख्न र हरेक २० मिनेटको स्क्रिन प्रयोगपछि कम्तीमा २ घण्टा बाहिरी गतिविधिमा संलग्न गराउन आग्रह गरिएको छ।
कार्यवाहक उपमन्त्री विन्सेन्ट केरामन्सले संसदमा लेखेका पत्रमा यो सल्लाहले बालबालिकामा डिजिटल लचीलोपन र मिडिया साक्षरता विकास गर्न सहयोग पुर्याउनेछ उल्लेख छ। उनी अक्टोबरमा हुने चुनावसम्म कार्यरत रहने मन्त्रीहरूमध्ये एक हुन्।
सरकारले जारी गरेको गाइडलाइन टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया एप्सलाई ह्वाट्सएप र सिग्नल जस्ता मेसेजिङ एप्स भन्दा भिन्न श्रेणीमा राखेको छ। गाइडलाइनमा भनिएको छ कि सोशल मिडिया एप्समा रहेका डोपामिन–ट्रिगरिंग एल्गोरिदम र नन–स्टप स्क्रोलिङ जस्ता फिचरले बच्चाहरूलाई नकारात्मक असर पार्छन्। यद्यपि, १३ वर्षपछि जब डच विद्यार्थीहरू माध्यमिक तहमा प्रवेश गर्छन्, उनीहरूले मेसेजिङ एप्स प्रयोग गर्न सक्ने उल्लेख छ।
यस मुद्दाले विश्वभर ध्यान तान्दै आएको छ। गत वर्ष अस्ट्रेलिया पहिलो देश बन्यो जसले १६ वर्षमुनिका बालबालिकालाई सोशल मिडियामा प्रतिबन्ध लगायो। डेनमार्क र फ्रान्स त्यस्तै कानुनी व्यवस्थाको तयारीमा छन् भने स्वीडेनले पहिले नै स्क्रिन टाइम सीमित गर्न सिफारिश जारी गरिसकेको छ।
डच संसदको अनुरोधमा गठन भएको विशेषज्ञ समूहको रिपोर्टअनुसार, अत्यधिक स्क्रिन प्रयोगले बालबालिकामा गम्भीर मानसिक समस्यादेखि सामाजिक एक्लोपना र दृष्टि समस्यासम्म देखिएको छ। देशका अधिकांश विद्यालयहरूले कक्षामा मोबाइल फोन, ट्याब्लेट र स्मार्ट वाचको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।
मे महिनामा झण्डै १,४०० डाक्टर र बाल–कल्याण विशेषज्ञहरूले खुला पत्रमा हस्ताक्षर गर्दै सरकारलाई १४ वर्षमुनिका बालबालिकालाई मोबाइल फोनबाट टाढा राख्न र १६ वर्षसम्म सोशल मिडिया प्रतिबन्ध गर्न आग्रह गरेका थिए। यसै सन्दर्भमा, डच रानी म्याक्सिमाले पनि सार्वजनिक रूपमा बताएकी थिइन् कि उनीकी कान्छी छोरी प्रिन्सेस एरियानेलाई मोबाइल डिभाइसको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएको हो।
सरकारले यस्तो कदम बालबालिकाको मानसिक, सामाजिक र शारीरिक विकासलाई ध्यानमा राखेर लिएको बताएको छ। साथै, आगामी दिनमा यस विषयमा कानुनी व्यवस्था गरिने सम्भावनासमेत इन्कार गरिएको छैन।