आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन सञ्चालन हुने भएको छ ।
एमआईटी कलेज र नेपाल आन्टरप्रेनर्स हबको सहकार्यमा आइसिटी अवार्डले एमआईटी कलेज बागबजारमा कात्तिक २३ गते शुक्रबार मेन्टरिङ सेसन सञ्चालन गर्न लागेको हो ।
आइसिटी अवार्डको प्रि-इभेन्टको रूपमा रहेको मेन्टरिङ सेसनमा आइसिटी अवार्ड २०२४ अन्तर्गतका स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्ड विधाका सेमि-फाइननिष्टहरू सहभागी हुनेछन् ।
सेसनमा मेन्टरको रूपमा ट्यान्जेन्ट वेभ्सका संस्थापक तथा सीईओ सुमन शाक्य, प्रिज्मा एड्भरटाइजिङका सीईओ रञ्जित आचार्य, अधिवक्ता सेमन्त दाहाल र आईडियाप्रेनर नेपालका संस्थापक संजोग कोइराला रहेका छन् ।
आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एउटा प्रतिष्ठित कार्यक्रम हो । सन् २०१६ देखि हरेक वर्ष आयोजना हुँदै आइरहेको आइसिटी अवार्डको यस वर्ष पनि छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । आगामी पुन ५ गते आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले हुँदैछ ।
त्यस भन्दा अगाडि अवार्डको प्रि-इभेन्टको रूपमा मेन्टरिङ सेसनका साथै कात्तिक २६ र २७ गते बुटक्याम्प, कात्तिक २८ गते इन्डष्ट्री भिजिट तथा कात्तिक २९ र ३० गते सय बढी स्टार्टअप तथा प्रडक्टको सहभागीतामा स्टार्टअप एण्ड आईडिया फेस्ट हुनेछ ।
यस्तै प्रि-इभेन्टको रूपमा मंसिर ६ गतेदेखि पुस ४ गतेसम्म कान्तिपुर टिभीमा अवार्ड सम्बन्धि विशेष शृङ्खला समेत प्रसारण हुनेछन् ।