नेपालको उड्डयन सुरक्षा र सञ्चार क्षमताको स्तर उकास्ने उद्देश्यसहित मेन्टरल्याब नेपाल र पाइलट एशोसिएशन अफ नेपाल (PAN) बीच सहकार्यका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार, दुवै संस्थाले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को एभिएसन ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट (ALPT) तथा विशेष एभिएसन इङ्लिश तालिम कार्यक्रम सञ्चालन गर्नेछन् ।
यो सहकार्यले नेपालका पाइलट, एयर ट्राफिक कन्ट्रोलर (ATC) र अन्य विमान प्रोफेसनलहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी दक्षता हासिल गर्न सहयोग गर्नेछ । तालिम अनलाइनबाट पनि लिन सकिने छ ।
यसले पाइलट र एटीसी बीचको सञ्चारलाई विश्वव्यापी ICAO मापदण्ड अनुसार सटीक, स्पष्ट र प्रभावकारी बनाउन मद्दत पुर्याउने लक्ष्य लिएको छ — जुन विमान सञ्चालनको सुरक्षाका लागि अत्यावश्यक पक्ष हो।
ICAO ALPT परीक्षणमा उच्चारण, व्याकरण, शब्दावली, प्रवाह, बुझाइ र अन्तरक्रिया गरी ६ वटा मुख्य भाषिक क्षमताहरूको मूल्याङ्कन गरिन्छ। अन्तर्राष्ट्रिय स्तरमा कार्य गर्नका लागि विमान प्रोफेसनलहरूले कम्तीमा लेभल ४ को दक्षता हासिल गर्नुपर्ने हुन्छ।
पाइलट एशोसिएशन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले नेपालको आकाशलाई अझ सुरक्षित बनाउनको लागि यो सहकार्य ठूलो कदम भएको बताए ।
‘ICAO अंग्रेजी दक्षता प्रत्येक पाइलट र एयर ट्राफिक कन्ट्रोलरका लागि अत्यावश्यक छ, र यस साझेदारीमार्फत हामी हाम्रा प्रोफेसनलहरूलाई विश्वस्तरीय बनाउने दिशामा अघि बढिरहेका छौं,’ उनले अगाडि भने ।
त्यस्तै, मेन्टरल्याब नेपालका सह-संस्थापक भानु दबाडीले भने पाइलट एशोसिएशन अफ नेपालसँगको सहकार्यले प्रत्यक्ष रूपमा विमान सुरक्षा सुदृढ गर्न र पाइलट तथा एटीसीहरूको सञ्चार क्षमता अभिवृद्धि गर्न योगदान दिने अवसर प्रदान गरेको बताए ।
यस बाहेक मेन्टरल्याबले कर्पोरेट प्रशिक्षण, कार्यकारी शिक्षा र विदेश अध्ययन कार्यक्रम लगायतका क्षेत्रमा पनि क्षमता विकास र विश्वस्तरीय शिक्षण अभियानलाई निरन्तरता दिइरहेको छ ।
कम्पनीले चाँडै नै GoAcad नामक नवीन लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) सार्वजनिक गर्ने योजना बनाएको छ, जसले विद्यार्थी र प्रोफेसनलहरूलाई इन्टरएक्टिभ र अन-डिमान्ड डिजिटल शिक्षण अनुभव उपलब्ध गराउनेछ ।
आईसीटी समाचार