कीवर्डहरू -

ह्वाट्सएपमा म्यासेज शेड्युलिङ फिचर आउँदै

ह्वाट्सएपमा म्यासेज शेड्युलिङ फिचर आउँदै

ह्वाट्सएपले प्रयोगकर्तालाई एपभित्रै सन्देश (म्यासेज) लेखेर मिति र समय तोकी पठाउन मिल्ने नयाँ इन–बिल्ट शेड्युलिङ फिचर विकास गरिरहेको संकेतहरू सार्वजनिक भएका छन्।

रिपोर्टअनुसार, शेड्युल गरिएको सन्देश तोकिएको समयसम्म एपभित्र ‘क्यु’ मा सुरक्षित राखिनेछ र समय पुगेपछि स्वतः पठाइनेछ। यसले छुट्टै रिमाइन्डर सेट गर्नुपर्ने वा अन्तिम समयमा म्यानुअल रूपमा सन्देश पठाउनुपर्ने झन्झट हटाउने अपेक्षा गरिएको छ। WABetaInfo ले पहिचान गरेका संकेतहरू आईओएसको लेटेस्ट बिटा भर्सन 26.7.10.72 मा फेला परेका हुन्, जसले फिचरको विकास प्रक्रिया जारी रहेको पुष्टि गर्दछ।

समाचारमा उल्लेख भएअनुसार, प्रयोगकर्ताले च्याटमा सन्देश टाइप गरी मिति र समय चयन गरेपछि सन्देश शेड्युल गर्न सक्नेछन्। च्याट इन्फो सेक्सनमा शेड्युल सन्देशहरू हेर्न र व्यवस्थापन गर्न मिल्ने छुट्टै अनुभाग रहनेछ। त्यहाँबाट प्रयोगकर्ताले सन्देश एडिट गर्न, पठाउनु अघि डिलिट गर्न वा पुरै शेड्युल रद्द गर्न सक्नेछन्। यदि सन्देश डिलिट गरियो भने प्राप्तकर्तालाई त्यसबारे कुनै सूचना नजाने व्यवस्था रहने बताइएको छ।

फिचर व्यक्तिगत च्याटसँगै समूह च्याटमा समेत काम गर्ने सम्भावना छ। हाल ह्वाट्सएप बिजनेसमा व्यावसायिक खाताका लागि ब्रॉडकास्ट प्रणालीमार्फत सन्देश शेड्युल गर्ने सुविधा उपलब्ध भए पनि त्यो प्रायः पेड र मार्केटिङ केन्द्रित छ। नयाँ टुल भने सामान्य प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइने अपेक्षा गरिएको छ, र यसले बिजनेस सेवाभन्दा फरक तरिकाले काम गर्ने देखिन्छ।

विकास चरणमा रहेको यो फिचर हाल बिटा टेस्टर्सका लागि समेत उपलब्ध नभएकाले सर्वसाधारण प्रयोगकर्तासम्म पुग्न अझ केही महिना लाग्न सक्ने विश्लेषण गरिएको छ। यदि सफलतापूर्वक कार्यान्वयन भयो भने यसले प्रयोगकर्ताको सन्देश व्यवस्थापन अनुभवलाई उल्लेखनीय रूपमा सहज बनाउनेछ।