मेटाले कस्टम रिसर्च र वेबसाइट निर्माणका लागि परिचित एआई एजेन्ट विकास गर्ने स्टार्टअप मानुस (Manus) लाई २ अर्ब अमेरिकी डलरभन्दा बढी रकममा अधिग्रहण गरेको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार यो चीनको एआई इकोसिस्टमबाट हुर्किएको कुनै स्टार्टअपमा भएको अहिलेसम्मकै ठूला अधिग्रहणमध्ये एक हो।
मानुस मार्च २०२५ मा सार्वजनिक भएको थियो, जुन समयमै अर्को चिनियाँ एआई स्टार्टअप डीपसिक (DeepSeek) ले पनि चर्चा बटुलेको थियो। सुरुमा बटरफ्लाइ इफेक्ट (Butterfly Effect) नामबाट चिनिने यस कम्पनीले मानुसलाई ‘पहिलो सामान्य एआई एजेन्ट’ का रूपमा प्रस्तुत गरेको थियो, जसले केवल आइडिया उत्पादन मात्र होइन, जटिल कार्यहरू स्वचालित रूपमा सम्पन्न गर्न सक्छ।
मानुसले मुख्य रूपमा तेस्रो पक्षका विभिन्न एआई मोडेल प्रयोग गर्दछ। यसमा विशेषगरी एन्थ्रोपिकको Claude 3.5 Sonnet र अलिबाबाको Qwen मोडेलका विभिन्न संस्करणहरू समावेश छन्।
यस एआई एजेन्टलाई बजार अनुसन्धान, कोडिङ, बिक्रीसम्बन्धी डाटा विश्लेषण, वेबसाइट क्लोनिङ तथा नयाँ वेबसाइट निर्माणजस्ता कामहरू स्वचालित गर्न डिजाइन गरिएको छ।
यद्यपि, केही आलोचकहरूले यसलाई ‘इन्फ्लुएन्सरहरूलाई लक्षित गरी अत्यन्तै चतुर रूपमा डिजाइन गरिएको उत्पादन’ भनेर टिप्पणी गरेका छन्, जसकै कारण यसको लोकप्रियता तीव्र रूपमा बढेको उनीहरूको भनाइ छ।
कम्पनीका अनुसार मानुसले दैनिक रूपमा लाखौँ प्रयोगकर्ता र व्यवसायहरूको आवश्यकता पूरा गरिरहेको छ। सार्वजनिक भएको मात्र आठ महिनामै यसको वार्षिक औसत आम्दानी १०० मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको दाबी गरिएको छ।
यसैबीच, मानुसले यो गर्मीयाममा आफ्ना बेइजिङस्थित अधिकांश कर्मचारीहरूलाई बिदा गर्दै मुख्यालय सिंगापुर सारेको थियो। विश्वव्यापी विस्तारका लागि यो कदम चालिएको बताइएको छ। रिपोर्टअनुसार कम्पनीले २ अर्ब डलर मूल्याङ्कन हुने गरी नयाँ लगानी चरण खोजिरहेको बेला मेटाले अधिग्रहणको प्रस्ताव गरेको थियो।
मानुसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सियाओ होङले कम्पनीको विज्ञप्तिमा भनेका छन्, ‘मेटासँग जोडिनुले हामीलाई अझ बलियो र दिगो आधारमा काम गर्ने अवसर दिएको छ। यसले मानुस कसरी काम गर्छ वा निर्णय प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुरामा कुनै परिवर्तन ल्याउने छैन।’
यस अधिग्रहणसँगै विश्वव्यापी एआई प्रतिस्पर्धामा मेटाको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार