एआई र डाटा सेन्टरका बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मेटा अब विद्युत व्यापार व्यवसायमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ ऊर्जा उत्पादन केन्द्रहरूको निर्माण छिटो गराउन दीर्घकालीन ऊर्जा खरिद प्रतिबद्धता गर्ने योजना बनाएको छ।
ब्लुमबर्गका अनुसार मेटा र माइक्रोसफ्ट दुवैले अमेरिकी संघीय निकायसँग विद्युत् व्यापारको अनुमति मागेका छन्। एप्पलले भने यसअघि नै यस्तो अनुमति पाइसकेको छ।
मेटाका ग्लोबल इनर्जी प्रमुख उर्वी पारेखका अनुसार व्यापार अनुमतिले कम्पनीलाई नयाँ पावर प्लान्टबाट ठूलो परिमाणमा विद्युत किन्ने दीर्घकालीन सम्झौता गर्न सहज बनाउँछ, साथै अतिरिक्त ऊर्जालाई होलसेल बजारमा पुनःबिक्री गरेर जोखिम व्यवस्थापन गर्न पनि मद्दत गर्छ।
एआई–सम्बन्धी डाटा सेन्टरको अभूतपूर्व ऊर्जा खपतबारे ब्लुमबर्गले दिएको उदाहरणअनुसार, मेटाको लुइसियाना डाटा सेन्टर क्याम्पसलाई मात्रै शक्ति आपूर्ति गर्न कम्तीमा तीनवटा नयाँ ग्यास–आधारित प्लान्ट निर्माण गर्नुपर्नेछ।
आईसीटी समाचार