मेटाले आफ्ना ब्रान्डेड स्मार्ट चस्मामा पुनः फेसियल रिकग्निसन (अनुहार पहिचान) प्रविधि थप्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार कम्पनीले आन्तरिक रूपमा नेम ट्याग (Name Tag) नाम दिइएको फिचर यसै वर्ष सार्वजनिक गर्न सक्ने सम्भावना छ।
रिपोर्टका अनुसार उक्त फिचरले मेटा-समर्थित रेब्यान मेटा स्मार्ट ग्लासेस वा Oakley ब्रान्डका स्मार्ट चस्मा प्रयोगकर्तालाई वरपर रहेका व्यक्तिको पहिचान र उनीबारे जानकारी एआईमार्फत देखाउन सक्नेछ।
प्रयोगकर्तासँग सामाजिक सञ्जालमा कनेक्सन भएका व्यक्तिहरू पहिचान गर्ने वा सार्वजनिक इन्स्टाग्राम प्रोफाइलबाट जानकारी देखाउने विकल्पमा कम्पनीले अध्ययन गरिरहेको बताइएको छ।
तर यस्तो प्रविधिले गोपनीयता र नैतिकतासम्बन्धी ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै मेटा सावधानीपूर्वक अघि बढिरहेको छ। स्रोतहरूका अनुसार कम्पनीले गत वर्ष दृष्टिविहीन व्यक्तिहरूको सम्मेलनमा यो फिचर सार्वजनिक नगर्नुको कारण पनि यही हो। कम्पनीले सन् २०२३ मा सार्वजनिक गरेको पहिलो संस्करणको स्मार्ट चस्मामा समेत अनुहार पहिचान नराखिएको थियो।
न्यूयोर्क टाइम्सले प्राप्त गरेको मेटाको रियालिटी ल्याब्स आन्तरिक मेमोमा हालको अमेरिकी राजनीतिक वातावरण कम्पनीका लागि योजना अघि बढाउन अनुकूल हुन सक्ने उल्लेख गरिएको छ। प्रतिस्पर्धात्मक स्मार्ट ग्लास बजारमा अग्रता लिन यस्तो प्रविधि उपयोगी हुने मेटाको विश्वास छ।
यसअघि मेटाले २०२१ मा फेसबुक फेस रिकग्निसन प्रणाली गोपनीयता विवादपछि बन्द गरेको थियो। तर तीन वर्षपछि कम्पनीले सो प्रविधि पुनः ल्याउँदै स्क्याम विज्ञापनमा सेलिब्रेटीको अनुहार दुरुपयोग भएको पहिचान गर्ने सुरक्षात्मक उपकरणका रूपमा प्रयोग गर्न थालेको थियो। पछि यो सुविधा अमेरिका बाहिर बेलायत, युरोप र दक्षिण कोरियामा समेत विस्तार गरिएको थियो।
नयाँ नेम ट्याग फिचर लागू भएमा स्मार्ट उपकरण र व्यक्तिगत गोपनीयताबीचको सन्तुलनबारे विश्वव्यापी बहस अझ तीव्र हुने अपेक्षा गरिएको छ।
आईसीटी समाचार