कीवर्डहरू -

इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा नयाँ सब्स्क्रिप्सन ल्याउने मेटाको तयारी

इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा नयाँ सब्स्क्रिप्सन ल्याउने मेटाको तयारी

मेटाले आफ्ना एपहरूमा विशेष (एक्सक्लुसिभ) सुविधा उपलब्ध गराउने गरी नयाँ सब्स्क्रिप्सन मोडेल परीक्षण गर्ने योजना बनाएको छ। नयाँ सब्स्क्रिप्सनमार्फत प्रयोगकर्तालाई थप उत्पादकता, सिर्जनात्मक स्वतन्त्रता र उन्नत एआई क्षमतामा पहुँच दिइने जनाएको छ।

आउँदा केही महिनामा मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएप मा प्रिमियम अनुभव प्रदान गर्नेछ, जहाँ प्रयोगकर्ताले आफ्ना कन्टेन्ट कसरी सेयर गर्ने र अरूसँग कसरी जडान हुने भन्नेमा थप नियन्त्रण पाउनेछन्। यद्यपि, यी सबै एपका आधारभूत सेवा भने निःशुल्क नै रहने मेटाले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार एकै प्रकारको रणनीतिमा सीमित नरही विभिन्न किसिमका सब्स्क्रिप्सन फिचर र बन्डलहरू परीक्षण गरिनेछ, र हरेक एपका लागि फरक–फरक एक्सक्लुसिभ सुविधा समावेश गरिनेछ।

मेटाले हालै करिब २ अर्ब डलरमा अधिग्रहण गरेको एआई एजेन्ट मानुसलाई पनि सब्स्क्रिप्सन योजनाको मुख्य हिस्सा बनाउने जनाएको छ। मानुसलाई मेटाका उत्पादनहरूमा एकीकृत गर्ने र व्यवसायिक प्रयोगका लागि छुट्टै सब्स्क्रिप्सनमार्फत बिक्री जारी राख्ने दुई तहको रणनीति अपनाइनेछ। इन्स्टाग्राममा मानुस एआईको सर्टकट थप्ने काम भइरहेको संकेत समेत देखिएको छ।

यसका साथै, मेटाले भाइब्स जस्ता एआई फिचरका लागि पनि सब्स्क्रिप्सन परीक्षण गर्ने तयारी गरेको छ। भाइब्स मेटाको एआईमा सञ्चालित छोटो भिडियो सिर्जना तथा रिमिक्स प्लेटफर्म हो, जुन हालसम्म निःशुल्क उपलब्ध थियो। अब भने सीमित निःशुल्क पहुँच (फ्रिमियम) र थप भिडियो सिर्जना अवसरका लागि सशुल्क सब्स्क्रिप्सन विकल्प ल्याउने योजना छ।

ह्वाट्सएप र फेसबुकका सशुल्क फिचरहरूबारे विस्तृत जानकारी नआए पनि, इन्स्टाग्राम सब्स्क्रिप्सनमा अनलिमिटेड अडियन्स लिस्ट बनाउन सक्ने, आफूलाई फलो नगर्ने फलोअरहरूको सूची हेर्न सक्ने, तथा स्टोरी हेर्दा पोस्ट गर्ने व्यक्तिलाई जानकारी नजाने सुविधा समावेश हुन सक्ने बताइएको छ।

यी नयाँ सब्स्क्रिप्सनहरू मेटा भेरिफाइडबाट अलग हुनेछन्। मेटाका अनुसार मेटा भेरिफाइडबाट सिकेका अनुभवका आधारमा अब दैनिक प्रयोगकर्ता, कन्टेन्ट क्रिएटर र व्यवसाय सबैलाई लक्षित गर्ने नयाँ सब्स्क्रिप्सन सेवा विस्तार गरिनेछ।

मेटा भेरिफाइड मुख्यतः क्रिएटर र व्यवसायका लागि भेरिफाइड ब्याज, २४/७ सपोर्ट, नक्कली अकाउन्टबाट सुरक्षा, सर्च अप्टिमाइजेसन लगायतका सुविधा प्रदान गर्छ।

नयाँ सब्स्क्रिप्सनमार्फत मेटाले थप आम्दानी गर्ने अपेक्षा गरेको भए पनि, धेरै प्रयोगकर्तामा देखिएको सब्स्क्रिप्सन थकान (subscription fatigue) चुनौती बन्न सक्ने देखिन्छ। यस्तै मोडेलमा स्न्यापले भने सफलता पाएको छ। 

स्न्यापच्याटले मासिक ३.९९ डलरबाट सुरू हुने सशुल्क सुविधासहित हाल १ करोड ६० लाखभन्दा बढी सब्स्क्राइबर जुटाइसकेको छ।

मेटाले आउँदा महिनाहरूमा यी सब्स्क्रिप्सन विस्तार गर्दा प्रयोगकर्ताको प्रतिक्रिया र सुझावलाई प्राथमिकताका साथ सुन्ने जनाएको छ।