कीवर्डहरू -

सिंगापुर प्रहरीको सूचनापछि मेटाले हटायो ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्ट

सिंगापुर प्रहरीको सूचनापछि मेटाले हटायो ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्ट

काठमाडौं । सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणका लागि सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले यस वर्ष अहिलेसम्म ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामाग्रीमाथि कारबाही गरेको जनाएको छ ।

मेटाका अनुसार ठगी गर्ने समूहले प्रयोग गर्न सक्ने अकाउन्ट र पेज पहिचान गरी निष्क्रिय पार्न सिंगापुर प्रहरीबाट प्राप्त सूचनाले महत्वपूर्ण भूमिका खेलेको छ । कम्पनी र सिंगापुर प्रहरी बल (एसपीएफ) बीच पछिल्ला दुई वर्षदेखि ठगीसम्बन्धी सूचना आदान–प्रदान हुँदै आएको छ ।

मेटाले जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाएको जनाएको छ ।

त्यसमध्ये जुन महिनामा मात्रै ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो । विद्यालय बिदाको समयमा परिवारहरू सस्तो यात्रा प्याकेजको खोजीमा विभिन्न वेबसाइटमा जाने अवस्थालाई लक्षित गरी ठगी गर्ने समूहसँग ती अकाउन्ट तथा पेज सम्बन्धित रहेको मेटाले जनाएको छ ।

जुलाईमा भने कारबाहीको संख्या उल्लेख्य रूपमा बढेको थियो । सो महिनामा मात्रै मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको जनाएको छ । तीमध्ये ठूलो हिस्सा ‘शेल पेज’ अर्थात् सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका पेज थिए ।

मेटाका अनुसार यस्ता निष्क्रिय पेजलाई अपराधीहरूले भविष्यमा खरिद गरेर वा आफ्नो नियन्त्रणमा लिएर ठगीका लागि प्रयोग गर्न सक्ने जोखिम हुन्छ । यही सम्भावित दुरुपयोग रोक्न त्यस्ता पेजमाथि समेत कारबाही गरिएको कम्पनीको भनाइ छ ।

मेटाले अघिल्लो वर्षको तुलनात्मक तथ्यांक भने सार्वजनिक गरेको छैन । कम्पनीका अनुसार ठगी गर्ने समूहले एउटै समयमा विभिन्न देश र विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गर्ने भएकाले कुनै एक संस्थासँग मात्र सम्पूर्ण गतिविधिको विवरण नहुने अवस्था छ ।

मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयन निर्देशक ड्यारिल पुनका अनुसार सिंगापुर प्रहरीबाट प्राप्त सूचनाले कम्पनीको आफ्नै प्रणालीबाट तत्काल पहिचान गर्न कठिन हुने जोखिम तथा गतिविधि पत्ता लगाउन सहयोग गरेको छ ।

उनका अनुसार प्रहरीसँगको समन्वयका कारण ठगीका नेटवर्कलाई ठूलो स्तरमै लक्षित गरी उनीहरूले धेरै मानिससम्म पहुँच पुर्‍याउनुअघि नै कारबाही गर्न सम्भव भएको छ । यसैबीच, मेटाको दक्षिणपूर्वी एसिया सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगीका गतिविधि पछिल्लो समय ‘औद्योगिक स्तर’ मा सञ्चालन हुन थालेको बताउनुभएको छ ।

उनका अनुसार ठगी गर्ने समूहले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल बनाउने, नक्कली तस्बिर तथा अन्य सामाग्री तयार गर्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छन् ।

मेटाले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा सुरक्षा संयन्त्र थप सुदृढ बनाउँदै ठगीसम्बन्धी गतिविधि र सामाग्री प्रयोगकर्तासम्म पुग्नुअघि नै पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।