कीवर्डहरू -

आफ्नो स्ट्यान्डअलोन म्यासेन्जर वेबसाइट messenger.com बन्द गर्दै मेटा

आफ्नो स्ट्यान्डअलोन म्यासेन्जर वेबसाइट messenger.com बन्द गर्दै मेटा

मेटाले आफ्नो स्ट्यान्डअलोन म्यासेन्जर वेबसाइट messenger.com बन्द गर्ने निर्णय गरेको छ। कम्पनीको हेल्प पेजअनुसार आगामी अप्रिलदेखि यो वेबसाइट उपलब्ध हुने छैन। 

तर कम्प्युटर प्रयोगकर्ताले फेसबुकमार्फत सन्देश पठाउन र प्राप्त गर्न भने सक्नेछन्। वेबसाइट बन्द भएपछि प्रयोगकर्ताहरू स्वतः facebook.com/messages मा रिडाइरेक्ट हुनेछन्, जहाँबाट उनीहरूले आफ्ना कुराकानीहरू निरन्तरता दिन सक्नेछन्। मोबाइल प्रयोगकर्ताका लागि भने फेसबुक म्यासेन्जर एप यथावत् रहनेछ।

कम्पनीले एपमा स्विच गर्दा च्याट हिस्ट्री पुनःस्थापना गर्न सकिने जनाएको छ। यसका लागि पहिले ब्याकअप बनाउँदा प्रयोग गरिएको पिन नम्बर आवश्यक पर्नेछ। यदि प्रयोगकर्ताले उक्त पिन बिर्सिएका छन् भने पुनःसेट गर्न पनि सकिने व्यवस्था गरिएको छ।

यो निर्णयप्रति धेरै प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्। विशेष गरी फेसबुक खाता निष्क्रिय गरेर पनि म्यासेन्जर मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताहरूलाई यसले असर पार्ने देखिएको छ। टेकक्रन्चको रिपोर्टअनुसार स्ट्यान्डअलोन वेबसाइट बन्द गर्ने निर्णयप्रति सामाजिक सञ्जालमा आलोचना बढ्दो छ।

केही महिनाअघि मात्रै मेटाले म्यासेन्जरका स्ट्यान्डअलोन डेस्कटप एपहरू पनि बन्द गरेको थियो। त्यतिबेला कम्पनीले प्रयोगकर्तालाई फेसबुकमार्फत सेवा प्रयोग गर्न निर्देशन दिएको थियो। सन् २०२३ देखि म्यासेन्जरलाई पुनः फेसबुक एपमै एकीकृत गर्ने प्रक्रिया सुरु भएको थियो, जसले हालको निर्णयलाई पूर्वसंकेत दिइरहेको विश्लेषण गरिएको छ।

म्यासेन्जरको इतिहास पनि लामो छ। सन् २००८ मा फेसबुक च्याटका रूपमा सुरु भएको सेवा सन् २०११ मा छुट्टै एपका रूपमा सार्वजनिक गरिएको थियो। सन् २०१४ मा फेसबुक मुख्य एपबाट म्यासेजिङ सुविधा हटाएर प्रयोगकर्तालाई म्यासेन्जर एपतर्फ मोडिएको थियो। पछिल्ला वर्षहरूमा भने कम्पनीले पुनः एकीकृत रणनीति अपनाउँदै आएको छ।