बजार अनुसन्धान संस्था सिमिलरवेबको हालैको प्रतिवेदनअनुसार मेटाको सामाजिक सञ्जाल थ्रेड्सले मोबाइल उपकरणमा दैनिक प्रयोगकर्ताको संख्यामा एलन मस्कको ‘एक्स’ (पूर्व ट्विटर) लाई उछिनेको छ।
वेब प्लेटफर्ममा भने अझै पनि एक्स नै अगाडि रहेको देखिन्छ। सिमिलरवेबको तथ्यांकअनुसार सन् २०२६ जनवरी ७ सम्म आइओएस र एन्ड्रोइडमा थ्रेड्सका दैनिक सक्रिय प्रयोगकर्ता १४१.५ मिलियन पुगेका छन्, जबकि एक्सका मोबाइल दैनिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन रहेको छ। पछिल्ला केही महिनादेखि थ्रेड्सको मोबाइल प्रयोग निरन्तर बढ्दो क्रममा रहेको प्रतिवेदनले देखाएको छ।
यो वृद्धि हालै एक्ससँग जोडिएका विवादहरूको प्रत्यक्ष असरभन्दा पनि दीर्घकालीन प्रवृत्तिको परिणाम भएको सिमिलरवेबले उल्लेख गरेको छ। एक्सको इन्टिग्रेटेड एआई ‘ग्रोक’ प्रयोग गरेर महिलाहरूका गैर-सहमतिको न्युड तस्बिर, कहिलेकाहीँ नाबालिकासमेत, बनाइएको खुलासा भएपछि प्लेटफर्म विवादमा तानिएको थियो। डीपफेकसम्बन्धी चिन्ताका कारण क्यालिफोर्नियाका अटर्नी जनरलले ग्रोकमाथि अनुसन्धान सुरु गरेका छन्। यसअघि युके, युरोपियन युनियन, भारत, ब्राजिललगायत क्षेत्रले पनि यस्तै अनुसन्धान थालेका थिए।
एक्समा देखिएको यो विवादका बीच सामाजिक सञ्जाल स्टार्टअप ब्लुस्काइमा पनि पछिल्ला दिनहरूमा एप इन्स्टलको संख्या बढेको देखिएको छ। तर थ्रेड्सको मोबाइल प्रयोग बढ्नुको मुख्य कारण मेटाका ठूला प्लेटफर्महरू—फेसबुक र इन्स्टाग्राम—मार्फत हुने क्रस–प्रमोशन, कन्टेन्ट क्रिएटरप्रतिको केन्द्रित रणनीति तथा नयाँ फिचरहरूको तीव्र विकास भएको बताइएको छ।
पछिल्लो एक वर्षमा थ्रेड्सले रुचि–आधारित कम्युनिटी, सुधारिएको फिल्टर, डाइरेक्ट मेसेज (DMs), लामो टेक्स्ट पोस्ट, डिसएपियरिङ पोस्ट तथा गेम्स परीक्षणजस्ता फिचर थपेको छ।
मोबाइलमा दैनिक सक्रिय प्रयोगकर्ता बढ्नुले थ्रेड्सलाई प्रयोगकर्ताले नियमित बानीका रूपमा प्रयोग गर्न थालेको संकेत गर्ने सिमिलरवेबको निष्कर्ष छ।
मेटाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ अगस्टसम्म थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४०० मिलियन नाघेका थिए। त्यसपछि अक्टोबर २०२५ मा दैनिक सक्रिय प्रयोगकर्ता १५० मिलियन पुगेको कम्पनीले जनाएको थियो, र यो वृद्धि क्रम अझै जारी रहेको छ।
सिमिलरवेबले गत वर्षको मध्यतिर थ्रेड्सले मोबाइलमा वर्ष–दर–वर्ष १२७.८ प्रतिशत वृद्धि गर्दै एक्ससँगको दूरी घटाइरहेको रिपोर्ट गरेको थियो।
यद्यपि अमेरिकामा भने अझै पनि एक्स नै अगाडि रहेको छ, तर दुवै प्लेटफर्मबीचको अन्तर क्रमशः घट्दै गएको सिमिलरवेबको भनाइ छ। एक वर्षअघि अमेरिकामा एक्सका दैनिक सक्रिय प्रयोगकर्ता हालको तुलनामा दोब्बर थिए।
वेब प्रयोगमा भने थ्रेड्सको उपस्थिति कमजोर नै देखिन्छ। सिमिलरवेबका अनुसार एक्समा दैनिक करिब १५० मिलियन वेब भिजिट कायम छन् । जनवरी १३ सम्मको तथ्यांकअनुसार एक्सले दैनिक १४५.४ मिलियन वेब भिजिट पाएको छ भने Threads.com र Threads.net मिलाएर थ्रेड्सले मात्र ८.५ मिलियन दैनिक वेब भिजिट हासिल गरेको छ ।
आईसीटी समाचार