मेटा कम्पनीका एक वरिष्ठ एआई अनुसन्धानकर्ता यान लेकुनले १२ वर्षपछि कम्पनी छोडेर आफ्नै एआई स्टार्टअप सुरु गर्ने घोषणा गरेका छन्। न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक समेत रहेका लेकुनले सन् २०१३ मा मेटामा सामेल भएर कम्पनीको फन्डामेन्टल एआई रिसर्च (FAIR) ल्याबको नेतृत्व गरेका थिए र पछि प्रमुख एआई वैज्ञानिकको भूमिका निभाएका थिए।
उनको नयाँ स्टार्टअपले अघिल्ला केही वर्षदेखि FAIR, NYU र अन्य साझेदारहरूसँग गरिरहेको एडभान्स मेसिन इन्टेलिजेन्स (AMI) अनुसन्धान कार्यक्रमलाई जारी राख्ने उद्देश्य राख्नेछ।
‘स्टार्टअपको लक्ष्य एआईको अर्को ठूलो क्रान्ति ल्याउनु हो: यस्ता प्रणालीहरू जुन भौतिक संसार बुझ्न सक्छन्, दीर्घकालीन स्मृति राख्न सक्छन्, तर्क गर्न सक्छन् र जटिल कार्यहरू योजनाबद्ध रूपमा गर्न सक्छन्,’ उनले भने ।
हालका महिनाहरूमा लेकुनको मेटामा भविष्यबारे अनुमान बढ्दै आएको थियो। यस वर्ष सुरुमा मेटाले स्केल एआईमा करिब १५ अर्ब डलर लगानी गरेको थियो र कम्पनीका २८ वर्षीय सीईओ अलेक्जान्ड्र वाङलाई चीफ एआई अधिकृत बनाएको थियो।
साथै, मेटाले GPT-4 निर्माणमा सहयोग पुर्याएका शेन्जिया झाओलाई नयाँ मेटा सुपर इन्टेलिजेन्स ल्याब्सको प्रमुख एआई वैज्ञानिक नियुक्त गरेको छ।
लेकुन भने एलएलएम (Large Language Models) प्रति खुलेर शङ्कित देखिएका छन्। उनले यस वर्षको सुरुमा बिग टेक्नोलोजी पडकास्टमा भनेका थिए, ‘हामी केवल एलएमएम बढाएर मानवस्तरीय एआईमा पुग्ने छैनौं।’
साथै, एक सम्मेलनमा उनले युवा अनुसन्धानकर्तालाई एलएलएममा काम नगर्न सल्लाह दिएका थिए।
त्यसैबीच, मेटाले आफ्ना एआई समूहमा पुनर्संरचना गरिरहेको छ। गत महिनामा सुपर इन्टेलिजेन्स ग्रुप र एफएआईआरबाट ‘केही सय’ कर्मचारीको जागिर काटिएको थियो।
ब्लूमबर्गको रिपोर्ट अनुसार, लेकुनले मेटामा आफ्ना परियोजनाका लागि स्रोत जुटाउन कठिनाइ भोगिरहेका थिए किनभने कम्पनीले प्रतिद्वन्द्वीहरू जस्तै ओपन एआई, गूगल र एनथ्रोपिकसँग प्रतिस्पर्धा गर्न मोडेल निर्माणमा बढी ध्यान दिएको थियो।
उनी वर्षको अन्त्यसम्म मेटामा रहनेछन्। उनले लेखेका छन्, ‘एफएआईआर र एएमआई कार्यक्रमको समर्थनका लागि मार्क जुकरबर्ग, एन्ड्र्यू बोसवर्थ (बो), क्रिस कक्स, र माइक श्रोएफरप्रति म अत्यन्तै आभारी छु।’
आईसीटी समाचार