कीवर्डहरू -

माइक्रोसफ्टको नयाँ एआई फिचर ‘कोपायलट कोवर्क’, अब अफिसको काम एआईले गरिदिने

माइक्रोसफ्टको नयाँ एआई फिचर ‘कोपायलट कोवर्क’, अब अफिसको काम एआईले गरिदिने

माइक्रोसफ्ट ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्दै ‘कोपायलट कोवर्क’ नामक अत्याधुनिक एआई फिचर सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले उक्त फिचर सार्वजनिक गर्दै यसलाई माइक्रोसफ्ट ३६५ एप्सभित्रै वास्तविक काम सम्पन्न गर्न सक्ने डिजिटल सहायकका रूपमा प्रस्तुत गरेका छन्।

अहिलेसम्म अधिकांश एआई प्रणालीहरू प्रयोगकर्ताका प्रश्नको उत्तर दिने, सामग्री लेख्ने वा सुझाव दिने काममा केन्द्रित थिए। तर ‘कोपायलट कोवर्क’ भने प्रयोगकर्ताको निर्देशनअनुसार प्रत्यक्ष रूपमा विभिन्न कामहरू सम्पन्न गर्ने क्षमतासहित आएको छ। सरल शब्दमा भन्नुपर्दा प्रयोगकर्ताले निर्देशन दिएपछि एआईले आवश्यक योजना बनाएर काम पूरा गरी नतिजा प्रस्तुत गर्छ।

कसरी काम गर्छ कोपायलट कोवर्क?

‘कोपायलट कोवर्क’ एक उन्नत एआई प्रणाली हो, जुन प्रयोगकर्ताको दैनिक कार्यालयीय कामलाई सहज बनाउन डिजाइन गरिएको हो। यो प्रणाली माइक्रोसफ्टको शक्तिशाली एजुरे एआई र माइक्रोसफ्ट पावर प्लेटफर्ममा आधारित छ।

प्रयोगकर्ताले एआईलाई आफूले गर्न चाहेको काम र अपेक्षित नतिजाबारे जानकारी दिन्छन्। त्यसपछि एआईले कामलाई गहिराइमा विश्लेषण गरेर चरणबद्ध योजना बनाउँछ र कम्प्युटरको ब्याकग्राउन्डमा काम सुरु गर्छ। काम सम्पन्न हुने क्रममा प्रयोगकर्तालाई नियमित अपडेट पनि दिइन्छ।

यदि निर्देशन अस्पष्ट भएमा एआईले थप प्रश्न सोधेर आवश्यक जानकारी स्पष्ट पार्छ। काम सम्पन्न भएपछि कुनै परिवर्तन लागू गर्नु अघि प्रयोगकर्ताको अनुमति लिने व्यवस्था भएकाले अन्तिम नियन्त्रण भने प्रयोगकर्ताकै हातमा रहने कम्पनीले जनाएको छ।

माइक्रोसफ्ट ३६५ एप्ससँग एकीकृत

यो फिचर मुख्यतया माइक्रोसफ्ट ३६५ का प्रमुख एप्ससँग मिलेर काम गर्नेछ। त्यसमा विशेषगरी माइक्रोसफ्ट आउटलुक, माइक्रोसफ्ट टिम्स र माइक्रोसफ्ट एक्सेल समावेश छन्।

यी एप्सबीच एकीकृत रूपमा काम गर्ने भएकाले प्रयोगकर्ताले बारम्बार एप परिवर्तन गर्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ।

दैनिक काम कसरी सजिलो हुन्छ?

माइक्रोसफ्टले उदाहरण दिँदै यो टुलले कार्यालयीय कामलाई कसरी सहज बनाउँछ भन्ने देखाएको छ। उदाहरणका लागि, एउटै समयमा दुई वटा मिटिङ परेमा एआईले कुन मिटिङ कम प्राथमिकताको हो भनेर विश्लेषण गर्न सक्छ। त्यसपछि अर्को उपयुक्त समय सुझाव गरी प्रयोगकर्ताको अनुमति पाएपछि क्यालेन्डर अपडेट गर्न सक्छ।

त्यसैगरी ठूलो मिटिङको तयारी गर्दा एआईले पुराना इमेल, फाइल र अघिल्ला मिटिङका सामग्री अध्ययन गरेर ब्रिफिङ नोट्स र प्रस्तुति सामग्री तयार गर्न सक्छ।

रिसर्च तथा डेटा इन्ट्री जस्ता समय लाग्ने कामहरूमा पनि यसले सहयोग पुर्‍याउँछ। ठूला रिपोर्टहरू पढेर तिनको सार निकाल्ने र आवश्यक डेटा स्वतः एक्सेल स्प्रेडशीटमा राख्ने जस्ता काम पनि यसले गर्न सक्छ।

सुरक्षा र उपलब्धता

माइक्रोसफ्टका अनुसार ‘कोपायलट कोवर्क’ पूर्ण रूपमा सुरक्षित छ र माइक्रोसफ्ट ३६५ का कडा सुरक्षा मापदण्डअनुसार विकसित गरिएको हो। प्रयोगकर्ताको गोपनीयता र संस्थागत नीति अनुरूप काम गर्ने गरी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

हाल यो फिचर सीमित ग्राहकहरूका लागि परीक्षणको चरणमा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार सन् २०२६ को मार्च अन्त्यतिर माइक्रोसफ्ट फ्रन्टियर प्रोग्राममार्फत अन्य प्रयोगकर्ताहरूका लागि क्रमशः उपलब्ध गराइने योजना रहेको छ।