कीवर्डहरू -

विश्व बैंकसँग डिजिटल रूपान्तरण परियोजनाबारे मन्त्री तिमिल्सिनाको छलफल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उच्चस्तरीय शिष्टाचार भेटवार्ता सम्पन्न

विश्व बैंकसँग डिजिटल रूपान्तरण परियोजनाबारे मन्त्री तिमिल्सिनाको छलफल

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एशिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक श्री डेभिड सिस्लेनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपालमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन लागेको ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ का साथै आपसी सहयोगका वर्तमान अवस्था र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

null

छलफलका क्रममा निर्देशक सिस्लेनले सञ्चार तथा सूचना प्रविधि मन्त्री तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उक्त परियोजनामा नेपाल सरकारले दिएको प्राथमिकता बारे चासो व्यक्त गरेका छन्। उनले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्यसूचीको कार्यान्वयनमा यो परियोजनाले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरेका छन्।

सिस्लेनले नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि विश्व बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी गराए।

भेटवार्ताका अवसरमा मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ लाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन अघि बढाउने बताए। उनले नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहका क्षेत्रमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै विगतभन्दा फरक ढङ्गले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे।

भेटमा मन्त्रालयका सूचना प्रविधि महाशाखाका प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू तथा विश्व बैंकका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

यो भेटवार्तालाई नेपालमा डिजिटल शासन, सेवा प्रवाह सुधार र सूचना प्रविधिमा अन्तर्राष्ट्रिय साझेदारी विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।