काठमाडौं । वर्षायाममा मोबाइल पानीमा भिज्ने वा पानीमा खस्ने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा आत्तिएर गरिने सामान्य गल्तीले मोबाइलमा गम्भीर क्षति पुग्न सक्छ । त्यसैले मोबाइलमा पानी पसेमा तुरुन्तै सावधानी अपनाउनु आवश्यक हुन्छ ।
फोन अन नगर्नुहोस्
मोबाइलमा पानी पसेलगत्तै स्क्रिन वा बटन थिचेर फोन अन गर्ने प्रयास नगर्नुहोस् । पानी र विद्युत्को सम्पर्क हुँदा फोनभित्र सर्ट सर्किट हुन सक्छ, जसले महत्वपूर्ण पाटपुर्जा तथा ब्याट्रीमा क्षति पुर्याउन सक्छ । फोन पहिले नै अन छ भने सकेसम्म छिटो स्विच अफ गर्नुहोस् ।
चार्जर नलगाउनुहोस्
भिजेको वा ओसिलो मोबाइललाई तत्कालै चार्जमा नजोड्नुहोस् । चार्जिङ पोर्टमा पानी वा ओसिलोपन भएमा सर्ट सर्किट हुन सक्छ र फोन तथा ब्याट्रीमा क्षति पुग्न सक्छ ।
हेयर ड्रायर प्रयोग नगर्नुहोस्
मोबाइल सुकाउन हेयर ड्रायरको तातो हावा प्रयोग गर्नु हुँदैन । अत्यधिक तापक्रमले फोनका संवेदनशील पाटपुर्जा बिगार्न सक्छ । त्यस्तै, तीव्र हावाको दबाबले पानीलाई फोनको भित्री भागमा अझ गहिरोसम्म पुर्याउन सक्छ ।
पानीमा भिजेको मोबाइल यसरी जोगाउनुहोस्
मोबाइलमा पानी पसिसकेपछि आत्तिएर गलत उपाय अपनाउनुको सट्टा निम्न सावधानी अपनाउन सकिन्छ :
तुरुन्तै स्विच अफ गर्नुहोस्
मोबाइल भिज्नेबित्तिकै सबैभन्दा पहिले फोन बन्द गर्नुहोस् । फोन बन्द गर्न सकेपछि अन गर्ने वा पटक–पटक बटन थिच्ने प्रयास नगर्नुहोस् ।
सिम र मेमोरी कार्ड निकाल्नुहोस्
फोनमा रहेका सिम कार्ड, मेमोरी कार्ड तथा बाहिरी कभर सम्भव भए सावधानीपूर्वक निकाल्नुहोस् । यसले ती सामाग्रीमा पानीबाट हुन सक्ने थप क्षति कम गर्न मद्दत गर्छ ।
सफा कपडाले पुछ्नुहोस्
सफा र सुक्खा कपडाको प्रयोग गरेर फोनको बाहिरी भागमा लागेको पानी बिस्तारै पुछ्नुहोस् । चार्जिङ पोर्ट, स्पिकर तथा अन्य खुला भागबाट पानी बाहिर निस्कन सक्ने गरी फोनलाई सावधानीपूर्वक राख्नुहोस् ।
खुला हावामा सुकाउनुहोस्
फोनलाई सुख्खा र हावा चल्ने ठाउँमा राख्नुहोस् । आवश्यक परे पंखाको हल्का हावा प्रयोग गर्न सकिन्छ । तर तातो हावा, प्रत्यक्ष घाम वा अन्य ताप स्रोतको प्रयोग नगर्नुहोस् ।
सर्भिस सेन्टर लैजानुहोस्
फोनभित्र धेरै पानी पसेको शंका भएमा आफैं खोलेर मर्मत गर्ने प्रयास नगर्नुहोस् । सकेसम्म छिटो आधिकारिक वा भरपर्दो मोबाइल सर्भिस सेन्टरमा लैजानुहोस् । प्राविधिकले फोनको अवस्था जाँच गरी आवश्यक प्रक्रिया अपनाउन सक्छन् ।
पानीबाट जोगाउने कभर प्रयोग गर्नुहोस्
वर्षायाममा मोबाइललाई पानीबाट जोगाउन वाटरप्रूफ कभर वा पानी नछिर्ने पाउच प्रयोग गर्नु उपयोगी हुन्छ । विशेष गरी बाहिर निस्कँदा मोबाइललाई सुरक्षित रूपमा राख्दा पानीबाट हुने जोखिम कम गर्न सकिन्छ ।
आईसीटी समाचार