एप्पलले मार्चदेखि एप स्टोरको खोज (Search) नतिजामा थप विज्ञापन देखाउन सुरु गर्ने जनाएको छ। एप्पलको विज्ञापनसम्बन्धी हेल्प पेजमा उल्लेख गरिएअनुसार, मंगलबार, मार्च ३ बाट नयाँ सर्च एड्स रोलआउट सुरु हुनेछ। यसबारे विकासकर्ताहरूलाई पठाइएको इमेललाई म्याक रूमर्सले अवलोकन गरेको छ।
एप्पलका अनुसार एप स्टोरमा अधिकांश प्रयोगकर्ताले एप खोजमार्फत नै डाउनलोड गर्छन्। कम्पनीले भनेको छ, एप स्टोरका करिब ६५ प्रतिशत डाउनलोड खोज गरेपछि नै हुने गर्छन्। यही कारण देखाउँदै, विज्ञापनदातालाई थप अवसर दिन एप्पल एड्स खोज क्वेरीहरूमा थप विज्ञापन देखाउन थालेको जनाएको हो।
अहिलेसम्म एप स्टोर खोज नतिजामा सम्बन्धित एपका विज्ञापनहरू शीर्ष स्थानमा मात्र देखिँदै आएका थिए। तर नयाँ परिवर्तनपछि ती विज्ञापनहरू खोज नतिजाको तल्लो भागमा पनि देखिने एप्पलले स्पष्ट पारेको छ।
एप स्टोर गतिविधि एप्पलको ‘सर्भिसेस’ व्यवसायको ठूलो हिस्सा हो। कम्पनीले एप डाउनलोड, इन–एप खरिद (in-app purchase) जस्ता प्रत्येक कारोबारबाट आम्दानी गर्छ। पछिल्ला वर्षहरूमा भने एप्पलले विज्ञापन स्थान बिक्रीमार्फत पनि आम्दानी बढाउँदै आएको छ।
एप स्टोरमा विज्ञापन नयाँ भने होइन। एप्पलले सन् २०२२ मा Today ट्याबमा पनि विज्ञापन थपेको थियो, जुन स्थान पहिल्यै सम्पादकीय सामग्री र मार्केटिङका लागि प्रयोग हुँदै आएको छ। यसैबीच, २०२५ मा ब्लुमबर्गले एप्पलले एप्पल म्याप्समा पनि विज्ञापन ल्याउने योजना बनाइरहेको रिपोर्ट गरेको थियो।
एप्पलले अप्रिल २०२५ मा आफ्नो विज्ञापन व्यवसायको नाम ‘Apple Search Ads’ बाट ‘Apple Ads’ मा परिवर्तन गर्नु नै कम्पनी विज्ञापन क्षेत्र विस्तारतर्फ गम्भीर रहेको संकेतका रूपमा हेरिएको छ।
अरबौँ एप्पल डिभाइसहरू, जसमा पूर्व–इन्स्टल एपहरू हुन्छन्, कम्पनीका लागि अत्यन्तै मूल्यवान डिजिटल स्पेस भएकाले एप्पलले आफ्नै प्लेटफर्ममा विज्ञापन विस्तार गर्नु स्वाभाविक रणनीति भएको विश्लेषकहरू बताउँछन्।
आईसीटी समाचार