कीवर्डहरू -

नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम

नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम

काठमाडौं । नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस) ले २०८३ साल असार महिनामा मात्र १२ खर्बभन्दा बढीको कारोबार फर्छ्यौट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धि हासिल गरेको छ । देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिप्रेक्ष्यमा यसले नेपाललाई रियल–टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्रमध्ये एकको रूपमा स्थापित पनि गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा आरपीएसमार्फत रु. ९३ खर्ब बराबरका रियल टाइम कारोबारहरू फर्छ्यौट भएका छन्, जुन सोही अवधिको तुलनामा चेकमार्फत भएका कारोबारको कुल रकमभन्दा पनि निकै बढी हो ।

यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायहरूबीच अन्तरआवद्ध डिजिटल भुक्तानी प्रणालीप्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको छ ।

यस उपलब्धिले डिजिटल कारोबारको संख्यामा भएको वृद्धिलाई झल्काउनुका साथै नेपालको अन्तरआवद्ध भुक्तानी प्रणालीको परिपक्वतालाई पनि प्रतिबिम्बित गरेको छ । यस रिटेल पेमेन्ट स्विचको प्लेटफर्म एक महत्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रूपमा रही सुरक्षित, विश्वसनीय र ठुलो संख्यामा कारोबार फर्छ्यौट गर्न सक्षम रहेको प्रमाणित गरेको छ ।

नोभेम्बर २०२१ मा सञ्चालनमा आएको आरपीएस, नेशनल पेमेन्ट स्विचको एक महत्वपूर्ण हिस्साको रूपमा एनसीएचएलले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कार्यान्वयन तथा सञ्चालन गर्दै आएको हो ।

साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको आरपीएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसओ), भुक्तानी प्रणाली सञ्चालक (पीएसपी) तथा सरकारी निकायहरूबीच सुरक्षित, रियल–टाइम तथा बैंक खातामा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

हाल आरपीएसले नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने विभिन्न अन्तरआवद्ध भुक्तानी सेवाहरूका लागि एकीकृत कारोबार प्रोसेसिङ प्लेटफर्मका रूपमा काम गर्दै आइरहेको छ ।

यसअन्तर्गत रियल–टाइम अकाउन्ट–टु–अकाउन्ट ट्रान्सफर, अन्तरआवद्ध नेपालपे क्यूआर भुक्तानी, एनपीआईमार्फत मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट हुने भुक्तानी, अनलाइन मर्चेन्ट पेमेन्ट, बिलर गेटवेमार्फत युटिलिटी तथा बिल भुक्तानी, NepalPay Request मार्फत Request-to-Pay, NepalPay Instant मार्फत Visa Direct ट्रान्सफर, सुरक्षित Account Tokenization, NepalPay Tap मार्फत NFC-based Account-to-Account Payment तथा आरटीजीएस प्रणालीसँग इन्टिग्रेट भएको Multilateral Net Settlement लगायतका सेवाहरू उपलब्ध रहेका छन् ।

एनपीएसले यस्ता विभिन्न भुक्तानी इन्स्ट्रुमेन्टलाई एउटै साझा पूर्वाधारमा इन्टिग्रेट गरी छुट्टाछुट्टै भुक्तानी नेटवर्कहरूमा जोडिनुपर्ने आवश्यकता हटाउनुका साथै समग्र वित्तीय प्रणालीमा नवीनतम प्रयोगहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

विश्वभर हेर्दा पनि अन्तरआवद्ध रियल–टाइम भुक्तानी प्रणालीहरू एक रणनीतिक राष्ट्रिय पूर्वाधारका रूपमा स्थापित भइरहेका छन् । भारतको UPI, ब्राजिलको Pix, थाइल्यान्डको PromptPay, सिंगापुरको PayNow, मलेसियाको DuitNow तथा इन्डोनेसियाको BI-FAST ले साझा भुक्तानी पूर्वाधारमार्फत डिजिटल व्यापारलाई तीव्रता दिन, वित्तीय समावेशीकरण विस्तार गर्न तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सकिने कुरा प्रमाणित गरिसकेका छन् ।

नेपालको नेशनल पेमेन्ट स्विच पनि सोही अवधारणामा आधारित रही बैंक, वित्तीय सेवा प्रदायक, व्यवसाय, सरकारी निकाय तथा फिनटेक नवप्रवर्तकहरूलाई साझा मापदण्डमार्फत जोड्ने अन्तरआवद्ध प्लेटफर्मका रूपमा विकास हुँदै गएको छ ।