जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।
कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो। सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबारदेखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उहाँको भनाइ छ।
यहाँ केही दिनदेखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन्। विगतमा दैनिक १०० भन्दाबढी नागरिकता र २०० भन्दाबढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए। कतिपय सेवाग्राही बिहानदेखि नै कार्यालयको मूलढाकोमा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो। रासस