कीवर्डहरू -

टिकटकमाथिको प्रतिबन्ध खुलाउन सांसद शाहको आग्रह

टिकटकमाथिको प्रतिबन्ध खुलाउन सांसद शाहको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा टिकटक खोल्न आग्रह गरेका छन् । 

प्रतिनिधि सभामा बोल्दै सांसद शाहले फेसुबक रिल्स, युट्युब सर्ट्स, इन्स्टा निर्वाध चलिरहँदा टिकटक माथिको प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेका हुन् । 

‘टिकटकको विकल्पमा फेसुबक रिल्स, युट्युब सर्ट्स, इन्स्टा मजाले चलेकै छ,’ उनले भने, ‘यस्तोमा सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन त छैन होला ।’ 

टिकटक बन्द भएपछि ब्यान्थविथ घटेर डेटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्यांकले देखाएको उनको भनाइ छ ।

टिकटकबाट साना व्यवसायीले गरिरहेका घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायी बेरोजगारी र विस्थापित भएको, यसको हिसाब गरिसाध्य नभएको उनले बताए । 

उनी अगाडि भन्छन्, ‘अरु पनि सूचीकृत नभएका फेसुबक इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेका छन् । तर टिकटकमा मात्रै अपराध र विकृति फैलिने कुरा स्वीकार्य छैन ।’

सरकारले गत कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्ध लगाएपनि भीपीएन लगायतका माध्यम प्रयोग गरेर प्रयोगकर्ताले टिकटक चलाइरहेका छन् ।