विश्वकै शीर्ष युट्युबर मिस्टर बिष्ट (वास्तविक नाम जिमी डोनाल्डसन) ले कृत्रिम बुद्धिमत्ता (AI) ले सामग्री सर्जकहरू (कन्टेन्ट क्रियटर) को जीविकामा पार्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
सोमबार उनले सामाजिक सञ्जालमार्फत एआईद्वारा बनाइने भिडियोहरूले जीविकाका लागि सामग्री बनाइरहेका लाखौं सर्जकहरूमा कस्तो असर पार्ला भन्ने प्रश्न उठाउँदै लेखेका छन् — ‘डर लाग्दो समय आएको छ।’
उनले भनेका छन्, ‘जब एआई भिडियोहरू सामान्य भिडियोहरू जत्तिकै राम्रो हुन्छन्, मलाई लाग्छ कि यसले युट्युबलाई के गर्छ र यसले हाल जीविकोपार्जनको लागि सामग्री बनाइरहेका लाखौं सिर्जनाकर्ताहरूलाई कस्तो असर गर्छ... डरलाग्दो समय।’
फोर्ब्सको २०२५ को सूचीअनुसार ८५ मिलियन डलर आम्दानी र ६३४ मिलियन फलोअर भएका मिस्टर बिस्ट विश्वका नम्बर वान युट्युबर हुन्। त्यसैले उनको विचार र टिप्पणीले सम्पूर्ण सामग्री उद्योगमा ठूलो प्रभाव पार्ने मानिन्छ। जब उनी नै एआईलाई आफ्नो व्यवसायका लागि सम्भावित खतरा ठान्दैछन् भने साना सर्जकहरू अझ बढी चिन्तित हुनु स्वाभाविक देखिन्छ।
उनको टिप्पणी ओपनएआईले हालै सार्वजनिक गरेको सोरा २ सँग मेल खाँदै आएको हो। यो नयाँ संस्करणले आवाज र भिडियो दुवै उत्पादन गर्न सक्ने क्षमता राख्छ, साथै यसको मोबाइल एपले प्रयोगकर्तालाई आफ्नै एआई भिडियो बनाउने सुविधा दिन्छ। उक्त एप अमेरिका एप्प स्टोरमा छोटो समयमा नै नम्बर–१ स्थानमा पुगेको छ।
युट्युबले पनि पछिल्लो समय एआईलाई खुला रूपमा अंगालेको छ। कम्पनीले भियो भिडियो मोडलमार्फत स्थिर फोटो एनिमेट गर्ने वा फरक शैलीमा भिडियो रूपान्तरण गर्ने एआई सम्पादन उपकरणहरू उपलब्ध गराएको छ। साथै, युट्युब स्टुडियोमा अब सर्जकका प्रश्नहरूलाई जवाफ दिने एआई च्याटबोट पनि समावेश गरिएको छ।
मिस्टरबिष्ट स्वयंले पनि एआईसँग सम्बन्धित प्रयोग गरेका छन्। यस वर्ष उनले आफ्नै प्लेटफर्मब भ्युस्टयाटमा एआई प्रयोग गरी भिडियो थम्बनेल बनाउने उपकरण जारी गरेपछि प्रशंसक र अन्य सर्जकहरूबाट आलोचना भोगेका थिए। त्यसपछि उनले उक्त सुविधा हटाउँदै मानव कलाकारहरूको कामलाई प्राथमिकता दिने घोषणा गरेका थिए।
उनको कम्पनीले सामाजिक उत्तरदायित्व (philanthropy) कार्यक्रमहरूमा पनि कहिलेकाहीँ एआईमा लगानी गरेको छ।
सामग्री सर्जकहरूबीच अहिले बहस चलिरहेको छ — एआई भिडियो सिर्जनाले सबैलाई सर्जक बनाउँछ कि अझै पनि उत्कृष्ट सामग्रीका लागि मानव सर्जनशीलता आवश्यक रहन्छ? केहीले एआईबाट बनेका भिडियोहरूलाई ‘सस्तो र आत्माहीन’ सामग्री भन्दै अस्वीकार गरेका छन्।
विशेषज्ञहरूको भनाइमा, यदि भविष्यमा एआईद्वारा बनेका सामग्रीहरू मानवले बनाएका जस्तै भइदिए पनि, पारदर्शिता बिना एआई प्रयोग गर्ने सर्जकहरूले आफ्ना दर्शकहरूको विश्वास गुमाउने र प्रतिष्ठा घटाउने सम्भावना रहन्छ।