कीवर्डहरू -

च्याटजीपीटीको सर्चमा मस्कको ग्रोकीपीडिया, एआई विश्वमा प्रतिस्पर्धा र सहकार्यको नयाँ बहस

च्याटजीपीटीको सर्चमा मस्कको ग्रोकीपीडिया, एआई विश्वमा प्रतिस्पर्धा र सहकार्यको नयाँ बहस

एलन मस्क र ओपनएआईका सीईओ सैम अल्टम्यानबीचको टकराव विश्वव्यापी रूपमा चर्चित रहँदै आएको छ। तर प्रविधि क्षेत्रमा प्रतिस्पर्धा र सहकार्य कहिले, कसरी र कुन मोडमा जोडिन्छ भन्ने अनुमान गर्न सधैं सजिलो हुँदैन।

यही पृष्ठभूमिमा मस्कको कम्पनी एक्स एआईले गत वर्ष विकिपिडियालाई चुनौती दिने उद्देश्यसहित सार्वजनिक गरेको एआई–आधारित इनसाइक्लोपीडिया ग्रोकीपीडिया (Grokypedia) अहिले ओपनएआईको च्याटजीपीटीसँग अप्रत्याशित रूपमा जोडिएको देखिएको छ। खुलासा अनुसार, च्याटजीपीटीको सबैभन्दा उन्नत मोडेल GPT-5.2 ले इन्टरनेट सर्चका क्रममा ग्रोकीपीडियाबाट जानकारी सङ्कलन गरिरहेको पाइएको छ।

द गार्जियनको एक ताजा रिपोर्टअनुसार, परीक्षणका क्रममा GPT-5.2 ले करिब एक दर्जन प्रश्नहरूको उत्तर दिन ग्रोकीपीडियालाई नौ पटक सन्दर्भ गरेको देखिएको हो। ती प्रश्नहरूमा इरानको राजनीतिक संरचना, त्यहाँको अर्धसैनिक संगठन बसिज फोर्सको तलब, साथै ठूला संस्थानहरूको स्वामित्वजस्ता संवेदनशील र जटिल विषयहरू समावेश थिए।

यस्तै, ब्रिटिश इतिहासकार सर रिचर्ड इभान्ससम्बन्धी जानकारीका लागि पनि च्याटजीपीटीले विकिपिडियाभन्दा ग्रोकीपीडियालाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।

यद्यपि ग्रोकीपीडियाको प्रयोग बढ्दै गएसँगै यसमाथि विवाद पनि चुलिँदै आएका छन्। सुरुवातदेखि नै यसले विकिपिडियाको सामग्री हुबहु नक्कल गरेको आरोप खेप्दै आएको छ। अझ गम्भीर रूपमा, यसको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाइएको छ।

आलोचकहरूका अनुसार ग्रोकीपीडियाले एलन मस्कका व्यक्तिगत धारणा तथा दक्षिणपन्थी विचारधारालाई प्रवर्द्धन गर्ने सामग्रीलाई प्राथमिकता दिन्छ। यसअघि जलवायु परिवर्तन, अमेरिकाको ६ जनवरीको क्यापिटल हिल घटना, तथा समलैंगिक विवाहजस्ता संवेदनशील विषयमा गलत वा भ्रामक जानकारी दिएको आरोप पनि लागिसकेको छ।

विकिपिडिया र ग्रोकीपीडियाबीच कार्यप्रणालीमा स्पष्ट अन्तर देखिन्छ। विकिपिडिया एक खुला र लोकतान्त्रिक प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताले प्रत्यक्ष रूपमा सामग्री सम्पादन, समीक्षा र सुधार गर्न सक्छन्।

यसको विपरीत, ग्रोकीपीडिया पूर्ण रूपमा एआई प्रणालीमा आधारित छ। यहाँ प्रयोगकर्ताले केवल फिडब्याक फारममार्फत सुझाव दिन सक्छन्, तर अन्तिम निर्णय एआई सिस्टमले नै गर्छ। रिपोर्टअनुसार अत्यधिक विवादित विषयहरूमा च्याटजीपीटीले ग्रोकीपीडियालाई सन्दर्भ नगरे पनि कम चर्चित र प्राविधिक विषयहरूमा भने त्यसकै सामग्री दोहोर्‍याएको देखिन्छ।

ग्रोकीपीडियाको प्रयोग च्याटजीपीटीमा मात्र सीमित छैन। एआई कम्पनी एन्थ्रोपिकले विकास गरेको क्लाउड (Claude) ले पनि पेट्रोलियम उत्पादनदेखि स्कटिश एलेसम्बन्धी जानकारीसम्मका लागि ग्रोकीपीडियालाई स्रोत बनाएको पाइएको छ।

यस विषयमा ओपनएआईका प्रवक्ताले कम्पनीको सर्च प्रणालीले इन्टरनेटमा उपलब्ध विविध सार्वजनिक स्रोत र फरक–फरक दृष्टिकोण समेट्ने प्रयास गर्ने बताएका छन्। उनका अनुसार सेफ्टी फिल्टरमार्फत गलत जानकारी प्रयोगकर्तासम्म पुग्न नदिने व्यवस्था गरिएको छ र च्याटजीपीटीले प्रयोग गरिएको जानकारीको स्रोत स्पष्ट रूपमा देखाउने प्रणाली अपनाएको छ।