नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा पनि भएको तोडफोड तथा आगजनीका कारणले हाल सहायता केन्द्र अस्थायी रूपमा बन्द गरिएको हो ।
यस कारण हाल कुनै पनि फोन वा ई-मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेको नागरिक एपले जनाएको छ ।
साथै एपले प्रयोगकर्तालाई ध्यानमा राख्दै फोटो प्रमाणीकरण प्रक्रिया स्वचालित गरेको छ । यदि फोटो अस्वीकृत भएको खण्डमा पूर्ण डिजिटल एमआरपी साइजको फोटो पुनः अपलोड गर्न नागरिक एपले आग्रह गरेको छ ।
साथै छिट्टै छिट्टै पुनः सहायता केन्द्र सञ्चालनमा ल्याउने जानकारी दिइएको छ ।
नागरिक एपबाट किन हट्यो ड्राइभिङ लाइसेन्स सुविधा ?
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आगजनी र तोडफोन भएपछि नागरिक एपबाट तत्काललाई ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हटेको हो ।
विभागको डेटा सेन्टरमा क्षति पुगेपछि ड्राइभिङ लाइसेन्स सम्बन्धी सबै सेवा हाललाई अवरुद्ध भएको जानकारी नागरिक एपले दिएको छ ।
आन्दोलनका क्रममा विभागको डेटा सेन्टर पूर्ण रूपमा नष्ट भएको थियो । यसले गर्दा लाइसेन्स नवीकरण, छपाइ, बायोमेट्रिक, रि-ट्रायल सबै सेवा अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।