कीवर्डहरू -

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य

आगामी कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना हुने भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले टिगसँगको मुख्य साझेदारीमा नास आईटी एक्सपो २०२५ आयोजना गर्न लागेको हो । 

ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुने एक्सपोमा सूचना प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाहरू प्रदर्शनीमा रहने छन् । 

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयोजना हुने यस  कार्यक्रमले व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

यस एक्स्पोले आईटी कम्पनीहरूलाई कर्पोरेट क्षेत्र, बैंकिङ तथा बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय, लगानीकर्तान र निर्णयकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क गराउन सहयोग गर्ने नास आईटीको भनाइ छ । 

साथै, यसले विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI) र डिजिटल रूपान्तरणमा जोड दिँदै व्यवसायिक सहकार्य, सम्झौता र ब्रान्ड निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

नास-आईटीका अध्यक्ष गौरव पाण्डेका नेपालका आईटी उत्पादन प्रदर्शन, उद्योगहरूसँग सहकार्य र प्रविधिले व्यवसायमा ल्याएको रूपान्तरण देखाउने लक्ष्यसहित आयोजना गर्न लागेको बताए । 

एक्सपोमा ३० भन्दा बढी आईटी कम्पनीहरूको प्रदर्शनी, विशेष अफर र प्याकेजहरू, नयाँ डिजिटल समाधानको शुभारम्भ र प्रत्यक्ष पिच सेसनका साथै लगानीकर्ता र कर्पोरेट नेटवर्किङलाई प्रोत्साहन गर्ने विशेष स्थल समावेश गरिएको छ ।

दुई दिनसम्म चल्ने यो कार्यक्रममा प्रविधिको प्रयोगमार्फत कार्यक्षमता, वृद्धि र प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने उद्देश्यका साथ कर्पोरेट नेतृत्व, नीतिनिर्माता, लगानीकर्ता र उद्यमीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

एक्स्पोका शीर्ष प्रायोजक टिग रहेको छन् भने सिल्भर प्रायोजकमा इसेवा र अन्य प्रायोजकमा रेडक्ट, र्‍यापिड, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन तथा डेटा वर्ल्ड रहेका छन् ।