कीवर्डहरू -

अध्यादेशबाट आईटीका कानुन संशोधन भएपछि नास आईटी खुसी, भन्यो: ‘सरकारको दूरगामी कदम’

अध्यादेशबाट आईटीका कानुन संशोधन भएपछि नास आईटी खुसी, भन्यो: ‘सरकारको दूरगामी कदम’

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् (नास-आईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत तथा आभार व्यक्त गरेको छ । 

नासआईटीको पहल र नीतिगत वकालतको परिणामस्वरूप, हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरणले आईटी उद्योगका लागि सकारात्मक र दुरगामी कदम भएको संस्थाले बताएको छ ।

यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने मद्दत गर्ने नास आईटीको विश्वास छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने पनि विश्वास व्यक्त गरेको छ । 

यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने र समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउने छ।

सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । 

‘सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने हाम्रो विश्वास छ,’ नास आईटीले भनेको छ । 

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने प्रयासमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नास आईटीले प्रतिबद्धता समेत जनाएको छ । 

नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ । यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता जनाएको छ ।