अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कटौती अभियान अन्तर्गत कम्तीमा २ हजार १४५ जना वरिष्ठ कर्मचारीहरूले नासाबाट राजीनामा दिने सम्भावना रहेको छ ।
यसले नासाको अनुसन्धान र अन्तरिक्ष मिशनहरूमा गम्भीर प्रभाव पार्ने देखिएको छ। नासाले सन् २०२६ मा नयाँ अन्तरिक्षयात्रीहरूको टोलीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ । अब यसमा पनि धक्का लाग्ने छ ।
बजेट कटौती भएपछि मारमा पर्ने सबै कर्मचारीहरू वरिष्ठ पदमा रहेका छन् । अहिले उनीहरूलाई विशेष दक्षता र व्यवस्थापन अनुभव आवश्यक पर्ने काममा खटाइएको छ। रिपोर्ट अनुसार, त्यसमध्ये १ हजार ८१८ जना कर्मचारी मिशन क्षेत्रहरू जस्तै विज्ञान र मानव अन्तरिक्ष उडानमा कार्यरत छन्, भने बाँकी कर्मचारीहरू आईटी, सुविधा व्यवस्थापन, वित्तीय कामहरूजस्ता सहयोगी भूमिकामा छन्।
नासाका महत्वपूर्ण क्षेत्रीय केन्द्रहरूमा पनि कर्मचारीको ठूलो संख्यामा कटौती हुँदैछ । जसमा केनेडी स्पेस सेन्टरबाट ३११ र जोन्सन स्पेस सेन्टरबाट ३६६ कर्मचारीहरू सामेल छन्। केनेडी स्पेस सेन्टर नासाको मुख्य रकेट प्रक्षेपण स्थल हो भने जोन्सन स्पेस सेन्टर मानव अन्तरिक्ष मिशनको गृहस्थलको रूपमा परिचित छ।
सन् २०२५ का लागि नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव गरिएको छ, जसले अनेकौं नयाँ मिशन र अनुसन्धान परियोजनाहरूलाई जोखिममा पार्न सक्ने देखिन्छ। यसमा चन्द्रमाको कक्षीय स्टेशन 'गेटवे' समेत पर्नेछ।
अमेरिकी संसदले यो बजेटमा महत्वपूर्ण परिवर्तन गर्न सक्ने भए पनि, अहिलेको स्वेच्छिक अवकाशले पहिले नै नासालाई केही क्षति पुर्याइसकेको छ। त्यस्तै, बढ्दो व्यावसायिक अन्तरिक्ष मिशनहरूको कारण पूर्व नासा कर्मचारीहरूलाई अन्य ठाउँमा रोजगारीका अवसरहरू पनि खुलिरहेका छन्।