भाद्र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा देशका विभिन्न सार्वजनिक संरचना तथा धरोहरमा क्षति पुगेपछि निजी क्षेत्रबाट सहयोग र ऐक्यबद्धताको क्रम जारी छ। सोही क्रममा नासा सेक्युरिटीजले सातदोबाटो प्रहरी वृत्तलाई आवश्यक सुरक्षा सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।
आन्दोलनका क्रममा सातदोबाटो प्रहरी वृत्तमा पुगेको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नासा सेक्युरिटीजले १०० थान फ्लोरोसेन्ट ज्याकेट, २ थान बडी–वर्न क्यामेरा तथा १ थान वेब क्यामेरा सहयोगस्वरूप हस्तान्तरण गरेको जनाएको छ।
नासा सेक्युरिटिजका अनुसार उक्त सामग्रीले प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा ट्राफिक नियन्त्रणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नासा सेक्युरिटीजले सेयर बजारसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा महत्व दिँदै आएको बताएको छ।
कठिन परिस्थितिमा एकजुट भई पुनर्निर्माण गर्नु नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै कम्पनीले सुरक्षित भोलिका लागि सशक्त प्रहरी संयन्त्र र प्रभावकारी ट्राफिक व्यवस्थापन अपरिहार्य रहेको धारणा व्यक्त गरेको छ।
‘संस्थाहरू एकसाथ उभिए देश अघि बढ्छ’ भन्ने विश्वाससहित नासा सेक्युरिटीजले भविष्यमा पनि सामाजिक तथा राष्ट्रिय पुनर्निर्माणका प्रयासमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।
आईसीटी समाचार