नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली आईटी प्रोफेसनलहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ वटा कोर्ष सार्वजनिक गरेको छ ।
युएसएआईडीको सहायतमा नास आईटीले नेपालको आईटी क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता वृद्धि गर्न डेभअप्स फन्डामेन्टल्स र मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कोर्ष विकास गरेको हो ।
संस्थाले यी दुई कोर्षलाई कार्यान्वयन गर्न टेक एक्सिस र प्रेसिडेन्सियल ग्राजुएट स्कुलसँग सहकार्य समेत गरेको छ । यससँगै टेक एक्सिसले मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्नेछ भने प्रेसिडेन्सियल ग्राजुएट स्कूलले डेभअप्स फण्डामेन्टल्स पाठ्यक्रममा ध्यान केन्द्रित गर्नेछ ।
डेभअप्स फण्डामेन्टल्स पाठ्यक्रम ब्याचलर्समा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूका लागि तयार गरिएको हो । यसले डेभअप्स सम्बन्धि व्यवहारिक सीप प्रदान गर्नेछ ।
मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट पाठ्यक्रम आईटी व्यवसायी र कर्मचारीहरूलाई वेब एप्लिकेशन विकासमा उच्चस्तरको सीप प्रदान गर्न डिजाइन गरिएको हो । सहभागीहरूले उन्नत प्रविधि, उत्कृष्ट अभ्यास र उद्योगका प्रवृत्तिहरू सिक्नेछन् ।
नास आईटीका कार्यसमिति सदस्य कैलाश राज विजयनन्दले नास आईटी जनशक्ति विकास र शैक्षिक क्षेत्र र उद्योग बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।
‘यी पाठ्यक्रमहरूले आईटी जनशक्तिलाई आजको प्रविधिको युगमा संसारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्ने छ,’ उनले भने, ‘यसले नेपालको आईटी उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’