नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा फ्रान्समा स्थित शिक्षाका लागि खगोल कार्यालयहरुको सहकार्यमा आयोजित तालिमले नेपालमा खगोलशास्त्र शिक्षालाई प्रवर्द्धन गर्ने तथा विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधिहरू समावेश गर्ने लक्ष्य राखेको थियो ।
तालिममा बागमती, मधेश र कोशी प्रदेशका १४ विद्यालय तथा संस्थाका २१ शिक्षक तथा शिक्षिकाहरू सहभागी भए । दुई-दिनसम्म चलेको कार्यक्रममा ग्रहहरूको कक्षीय गतिको अध्ययन, अन्तरक्रियात्मक गतिविधिहरू तथा गतिशील मानव सौर्य मण्डल प्रयोग गरेर ग्रहहरूको गति बुझ्ने कार्यशाला समावेश गरिएको थियो ।
सहभागीलाई फ्रान्सको शिक्षाका लागि खगोल कार्यालयका प्रबन्धक इमानुएल रोलिन्डे, शिक्षाको लागि खगोल कार्यालय नेपालका प्रबन्धक सुरेश भट्टराई र उप-प्रबन्धक मनिषा द्वाले तालिम प्रदान गरेका थिए ।
कुल २१ सहभागीहरूमध्ये ७ पुरुष र १४ महिला थिए, जसले स्टिम शिक्षामा महिलाको सशक्त उपस्थिति दर्शाएको छ । कार्यक्रममा विद्यालय शिक्षामा खगोलशास्त्रलाई कसरी समावेश गर्ने, ग्रहहरूको गतिशीलता बुझाउने व्यावहारिक कार्यशालाहरू, तथा शिक्षकहरूलाई गतिशील मानव सौर्य मण्डल निर्माण र प्रयोग गर्ने सीप प्रदान गरिएको थियो ।
यस तालिमले शिक्षकहरूलाई नवीनतम शिक्षण प्रविधिहरू अपनाउन प्रेरित गर्ने र विद्यार्थीहरूमा खगोलशास्त्र तथा अन्तरिक्ष विज्ञानप्रति रुचि बढाउने अपेक्षा गरिएको छ।