कीवर्डहरू -

नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै, कसरी दिने आवेदन ?

नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै, कसरी दिने आवेदन ?

साउन २९, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ ।

 नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो । 

अवार्ड ११ विधामा प्रदान गरिने छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन् । 

नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म यहाँ क्लिक गएर नलाइन आवेदन दिन सकिने छ । नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्स विदेशमा आफ्नो सेवा विस्तार गर्न चाहने इन्नोभेसनहरूका लागि एउटा उपयोगी प्लेटफर्म भएको बताए ।

यस्तै नास आईटीकी उपाध्यक्ष सन्तोष कोइरालाले नास आईटी अवार्ड्सले नेपालको प्रविधि क्षेत्रलाई विश्वसामु चिनाउन सघाउने बताए । त्यसैगरी नास आईटीकी कार्यसमिति सदस्य प्रार्थना शाखले अवार्ड्को प्रक्रियाको बारेमा जानकारी दिदै आइसिटी इनेबल इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने बताइन् ।

अवार्डमा आवेदन दिन नेपालमा दर्ता भएको कम्पनी हुनुपर्नेछ । यदी विदेशी लगानीको कम्पनी भए त्यसमा प्रतिशत स्वामित्व नेपालको हुनुपर्नेछ । साथै ग्राजुएट भएको १ वर्षसम्मका विद्यार्थीले समेत आफ्नो परियोजनालाई अवार्डमा पठाउन सक्ने छन् ।

आवेदन दिनका लागि विद्यार्थीको परियोजनालाई १ हजार र अन्यलाई ५ हजार रूपैयाँ शुल्क तोकिएको छ । आवेदन दिनपछि पिचिङ राउन्ड सुरू हुनेछ । त्यसमा मूल्यांकनका लागि ३ देखि ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जजहरू हुनेछन् । 

नास आईटी अवार्डको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ । अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ । 

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ । 

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।