नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सञ्चालन गरिरहेको सूचना पहुँच केन्द्रले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (NIA) ले ४५ देशमा सञ्चालनमा रहेका ६० सूचना पहुँच केन्द्रका गतिविधिहरूलाई समेटेर ३ देखि ५ मिनेटको उत्कृष्ट प्रयोग र सफलता कथा (Success Story) प्रस्तुत गर्ने भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।
सो प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएका थिए, जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
अन्य विकसित देशहरूको तुलनामा उच्चस्तरीय प्राविधिक उपकरण र दक्ष जनशक्तिको अभाव हुँदाहुँदै पनि तेस्रो स्थान हासिल गर्नु नास्ट मात्र नभई समग्र देशकै लागि गौरवको विषय भएको सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीले बताएका छन् ।
नास्टले कोरियाको सहयोगमा सूचना पहुँच केन्द्र स्थापना गरेको थियो । यस सम्बन्धमा सन् २०२० डिसेम्बर ११ मा नेपाल र कोरिया सरकारबीच द्विपक्षीय सम्झौतापत्र (MoU) मा हस्ताक्षर भई औपचारिक प्रक्रिया सुरु गरिएको थियो। केन्द्रको औपचारिक उद्घाटन सन् २०२१ नोभेम्बर ११ मा सम्पन्न भएको थियो।
दुई देशबीचको सहकार्यको मुख्य उद्देश्य नेपालमा विद्यमान डिजिटल विभाजन (Digital Divide) घटाउनुका साथै सूचना प्रविधि (IT) क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनु रहेको छ।
सूचना पहुँच केन्द्रलाई दुई भागमा सञ्चालन गरिएको छ। पहिलो, नास्ट परिसरभित्र स्थापित भौतिक सूचना प्रविधि पूर्वाधार, जहाँ विभिन्न आईटी ल्याबहरू सञ्चालनमा छन्। दोस्रो, घुम्ती सूचना पहुँच केन्द्र (मोबाइल IAC), जसलाई विशेष बसमार्फत देशका विभिन्न स्थानमा सञ्चालन गरिन्छ।
नास्टमा रहेका सूचना प्रविधि ल्याबमार्फत विद्यालय तथा विश्वविद्यालयका शिक्षक–विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी तथा सरकारी निकायका कर्मचारीहरूलाई आवश्यकताअनुसार विभिन्न सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिँदै आएको छ। त्यस्तै, घुम्ती सूचना पहुँच केन्द्रमार्फत सातै प्रदेशका विद्यालय, विश्वविद्यालय, सरकारी तथा सुरक्षा निकायका पदाधिकारीहरूलाई समेत तालिम प्रदान गरिँदै आएको छ।
सन् २०२२ देखि हालसम्म नास्टस्थित सूचना प्रविधि ल्याब र मोबाइल IAC मार्फत झण्डै १२ हजारभन्दा बढी व्यक्तिहरूलाई निःशुल्क सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको नास्टले जनाएको छ। नयाँ अवधारणाका रूपमा सञ्चालन गरिएको यस कार्यक्रमले व्यापक आकर्षण र प्रशंसा पाएको छ, जसका कारण कार्यक्रमको दायरा क्रमशः विस्तार हुँदै गएको छ।
यसका अतिरिक्त, कोरियन सरकारको सहयोगमा दृष्टिविहीन व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यसहित विभिन्न आधुनिक उपकरणहरू समेत उपलब्ध गराइएको छ। सूचना पहुँच केन्द्रमार्फत नास्ट परिसरका साथै देशका अन्य स्थानहरूमा पनि दृष्टिविहीनहरूलाई लक्षित गरी तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। स्रोत–साधनको सीमितताका बाबजुद कार्यक्रमलाई निरन्तरता दिँदै जाँदा यस्ता कार्यक्रमहरू देशभर विस्तार गर्नुपर्ने माग बढ्दै गएको नास्टले जनाएको छ।
आईसीटी समाचार