नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी विस्तृत सूचना जारी गरी खुद्रा मूल्य भुक्तानी प्रणाली (रिटेल भ्यालु पेमेन्ट सिस्टम -आरभीपीएस) तथा ठूलो मूल्य भुक्तानी प्रणाली (लार्ज भ्यालु पेमेन्ट सिस्टम-एलभीपीएस) अन्तर्गत प्रयोग हुने भुक्तानी माध्यम, प्रति कारोबार र मासिक सीमा, सञ्चालन समय तथा ग्राहक सुरक्षासम्बन्धी प्रावधानहरू स्पष्ट पारेको छ ।
सूचनाअनुसार मोबाइल बैंकिङ एप्लिकेशन, कनेक्ट आइपीएस एप र क्यूआर कोडमार्फत हुने लेनदेनमा प्रति कारोबार अधिकतम रु. ३ लाखसम्म तथा वेब एप्लिकेशन/इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा प्रति कारोबार रु. २० लाखसम्म सीमा तोकिएको छ।
बैंक खाताबाट वालेटमा रकमान्तरण र वालेटबाट बैंक खातामा (क्यूआर कोडसमेत) रकमान्तरण गर्दा प्रति कारोबार रु. २ लाख र मासिक रु. १० लाखसम्म र एउटै वालेटबाट अर्को वालेटमा रकमान्तरण गर्दा प्रति कारोबार रु. ५० हजार र मासिक रु. ५ लाखसम्म सीमा लागू हुने व्यवस्था गरिएको छ।
साथै डेबिट/क्रेडिट कार्ड वा प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ/वालेटमार्फत क्यूआर कोड प्रयोग गरी मर्चेन्ट पेमेंट र ई–कमर्स कारोबारमा ग्राहकतर्फबाट कुनै सीमा नरहने र बैंक/वालेट प्रदायकले ग्राहकबाट कुनै अतिरिक्त शुल्क नलिने व्यवस्था रहेको सूचनामा उल्लेख छ।
यूएसएसडी (अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा) मार्फत गरिने कारोबारमा प्रति कारोबार अधिकतम रु. ५ हजार र प्रतिदिन अधिकतम रु. १० हजार गर्ने व्यवस्था, एनएफसी (नियर फील्ड कम्युनिकेसन) प्रविधि प्रयोग गरी कन्ट्याक्टलेस कार्डबाट गरिने कारोबारमा प्रति कारोबार रु. ५ हजारसम्म सीमा र मोबाइल एप/इन्टरनेट/एसएमएस बैंकिङ/डिजिटल वालेटका प्रयोगकर्ताले युजरनेम, पासवर्ड वा ट्रान्ज्याक्शन पिन हराए/बिर्सिएमा सम्बन्धित सेवा निःशुल्क रुपमा पुन:प्राप्त गर्न सक्ने व्यवस्था पनि समावेश गरिएको छ।
थप रूपमा, वालेटमा लिंक गरिएको आफ्नै बैंक खाताबाट रकम स्थानान्तरण गर्दा कुनै सीमा नलाग्ने र एउटै व्यक्तिको नाममा रहेको बैंक तथा वित्तीय संस्थाका खाताहरूबीच रकम स्थानान्तरणमा सीमाहरु नलाग्ने प्रावधान सूचनामा समेटिएको छ।
व्यवसायिक प्रयोजनका लागि कर्पोरेट पे, इन्टर–बैंक फण्ड ट्रान्सफर फर बिजनेश जस्ता विशेष भुक्तानी उपकरण उपलब्ध गराइने र आवश्यकताअनुसार छुट्टै सीमा तोकिने तथा ठूलो मूल्यका तत्कालै सेटलमेन्टका लागि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत रु. २ लाख वा सोभन्दा माथिको रकम वास्तविक समयमा पठाउन मिल्ने व्यवस्था गरिएको छ ।
आरटीजीएस सञ्चालन समय आइतबारदेखि बिहिबार बिहान ८:३० बजेदेखि बेलुका ५:३० बजेसम्म र शुक्रबार बिहान ८:३० बजेदेखि अपरान्ह २:४५ बजेसम्म कायम गरिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले यी व्यवस्था लागू गर्ने उद्देश्य ग्राहक सुरक्षालाई थप सुदृढ पार्नु, भुक्तानी सेवामा पारदर्शिता र सहज पहुँच सुनिश्चित गर्नु रहेको जनाएको छ।