काठमाडौं । होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ । होटल व्यवसायी महासंघ नेपालले ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो ।
एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासँग जोड्ने लक्ष्य राखिएको महासंघका अध्यक्ष टीआर भण्डारीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङ, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षालगायत विषयमा व्यावहारिक तालिम सञ्चालन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धिसँगै व्यवसायमा प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानले विशेष गरी ग्रामीण क्षेत्र, राजमार्ग आसपास तथा नयाँ पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।
डिजिटल प्रविधिको प्रयोगमार्फत होटल तथा रेस्टुरेन्ट व्यवसायीको पहुँच विस्तार गर्नुका साथै ग्राहकसँगको अन्तरक्रिया र व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्य अभियानको रहेको आयोजकले जनाएको छ ।
आईसीटी समाचार